‘एमसीसी सम्झौता अनुमोदन हुन्छ’-परराष्ट्रमन्त्री ज्ञवाली

by समतल अनलाइन

बुटवल । परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले ‘बहुचर्चित र बहुविवादित’ एमसीसी सम्झौता अनुमोदन हुने बताएका छन् ।प्रेस संगठन नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले एमसीसीका विषयमा रहेका केही प्रश्नको उत्तर खोजेर एमसीसी अनुमोदन हुने बताएका हुन् ।

मन्त्री ज्ञवालीले पार्टीको स्थायी समितिमा एमसीसीमा के के सच्याउने भन्ने एजेन्डा नउठेको दाबी गरे । उनले भने, ‘तर पार्टीमा उठेका हरेक प्रश्नको उत्तर खोज्दै आवश्यक परे सच्चाएर एमसीसी अनुमोदन हुन्छ ।’

मन्त्री ज्ञवालीले पार्टी झण्डै झण्डै फुटको अवस्थामा पुगेको स्वीकार गरे । पार्टी फुट्छ की भन्ने भयले स्थिरता चाहनेहरु चिन्तामा भएको बताउँदै ज्ञवालीले अहिले पार्टी पुरानै एकताको अवस्थामा पुगेको दाबी गरे । उनले भने, ‘अझै पनि अन्तरविरोधहरु छन्, जसलाई चैतमा महाधिवेशन बाट समाधान हुने विश्वास छ ।’

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता हुने विश्वास व्यक्त गरे ।नेपालको सम्पूर्ण भुगोललाई समेटेर नयाँ नक्शा जारी गरिएको बताउँदै मन्त्री ज्ञवालीले खोसिएको भुभाग फिर्ता लिन नयाँ नक्शा जारीपछि थप उर्जा थपिएको बताए । उनले कुटनीतिक सम्वाद र छलफलबाटै सीमा समस्याको समाधान गर्ने विश्वास व्यक्त गरे ।

कालापानी पश्चिममा रहेका नेपालीसँग कसरी सम्पर्क गर्ने भन्नेबारे सोधिएको एक प्रश्नमा ज्ञवालीले भारतीय सेना हटेर नेपाललाई आफ्नो भूभाग उपभोग गर्न दिनुपर्ने बताए ।

‘निश्चित प्रयोजनका लागि वर्षौपहिले बसेका भारतीय सेना अब हट्नुपर्छ । नेपाललाई आफ्नो भुभाग उपयोग गर्न दिनुपर्छ’, उनले भने ।

नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै मन्त्री ज्ञवालीले प्रधानमन्त्रीस्तरमा भारतसँग चारपटक फोन सम्बाद्ध भएको जानकारी दिए ।

ज्ञवालीले विकासका सवालमा भारसँग सम्बन्ध सुदृढ बन्दै गएको बताउँदै राष्ट्रियताको पक्षमा नेपाल उभिँदा भने सम्बन्धमा केही समस्या परेको जनाए ।

स्वास्थ्य संकटमा परेका जनतालाइ राहत पु-याउने सरकारको प्राथमिकतामा छ । स्वास्थ्यका उपकरण थप गरिरहेको छहामीले अनुमान गरेको साउन भदौमा कोरोना पिकमा पुग्छ र त्यसपछि विस्तारै कम हुँदै जान्छ भन्ने हामीले गरेको पूर्वानुमान मिलेको छैन ।

एशियाली विकास बैंकले पनि नेपालको अर्थतन्त्रलाई राम्रो संकेत गरेको छैन । त्यसैले अर्थतन्त्रलाई चलायमान गराउन सकेनौं भने हामी निकै खुम्चेनेछौं त्यसैले स्वास्थ्य सतर्कता अपनाउँदै अर्थतन्त्रका गतिविधि खुला गर्न खोजेका हौ ।

तर, आर्थिक गतिविधि गर्दा सावधानी अपनाउन आवश्यक रहेको उनले स्पष्ट पारे । व्यवसायलाई पूर्ववत अवस्थामा ल्याउन ब्याज, किस्ता र करमा सहुलियत दिइएको मन्त्री ज्ञवालीले बताए।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ती गर्नेबारे सोधिएको एक प्रश्नमा मन्त्री ज्ञवालीले सकारात्मक काम गर्ने विषयमा सरकार सकारात्मक बन्ने बताए । ज्ञवालीले प्राधिकरणमा नियुक्तिका विषयमा सरकारले उपयुक्त निर्णय गर्ने जनाए ।कुलमानको बिषयमा सकारात्मक काम गर्नेका बिषयमा सरकार सकारात्क छ । नियुक्तिका बिषयमा सरकारले उपयुुक्त निर्णय गर्ने बिश्वास व्यक्त गरे ।

 
 
  
 

You may also like