अस्पतालबाट कांग्रेस महामन्त्री शशांकको सन्देश : आतिनु पर्दैन

by समतल अनलाइन

काठमाडौं । कोरोना संक्रमण भई ओम अस्पतालमा उपचाररत् नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले अस्पतालबाटै आफ्नो स्वास्थ्यबारे जानकारी गराएका छन् ।

उनले संक्रमण भएपछि आफू ओम नर्सिङ होमको आइसोलेसनमा रहेको प्रत्यक्ष जानकारी गराउँदै कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

‘तपाईंहरुले चिन्ता लिनु पर्दैन। दुई–तीन दिन अझै यहाँ बसेर डिस्चार्ज हुन्छु । यति नै भनौं, यहाँहरु सबैलाई धन्यवाद, जय नेपाल,’ उनले भिडियो सन्देशमा भनेका छन् ।

कोभिड–१९ संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका महामन्त्री कोइरालालाई मंगलबार साँझ ज्वरो आएपछि बुधबार बिहान अस्पताल भर्ना भएका हुन् ।

सभापति देउवाद्वारा कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्थाबारे नियमित चासो राख्नुका साथै शीघ्र स्वास्थलाभको कामना गरेका छन् ।

सभापति देउवाले महामन्त्री कोइराला चाँडै नै स्वस्थ भएर घर फर्कन पार्टीका तर्फबाट शुभेच्छा व्यक्त गरेको पार्टी कार्यालयले आज जनाएको छ ।

 
 
  
 

You may also like