आज पाँच प्रदेशमा भारी बर्षाको सम्भावना, सचेत रहन मौसमविदको चेतावनी

by समतल अनलाइन

काठमाडौं। पछिल्ला केहि दिनयता नेपालमा फेरि बर्षाको मात्रा बढेको छ । आज (बिहीबार) वागमती, गण्डकी, प्रदेश–५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा केही पर दक्षिणतर्फ रहेको र अहिले सक्रिय रहेकोले केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् ।
अहिले देशभर सामान्यदेखि पूर्णरुपमा बादल लागेको र प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

दिउँसो पनि देशका धेरैजसो ठाउँमा बादल लागेर केही ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ । राति पनि देशभर बादल लागेर केही ठाउँमा पानी पर्ने र वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनी प्रणाली सक्रिय रहेकोले अझै केही दिन मौसम नखुल्ने मौसमविद् राजु प्रधानाङ्गले बताए । केही ठाउँमा मौसम खुल्ने बादल लाग्ने क्रम चलिरहे पनि अझै केही दिन मौसम नखुल्ने उनले बताए ।

आगामी २४ घण्टा (शुक्रबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ– बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

 
 
  
 

You may also like