सुनसरी । कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत थप दुई जनाको ज्यान गएको छ ।
झापाका एक जना कोरोना संक्रमित वृद्धको धरानमा मृत्यु भएको छ । झापाको कमल गाउँपालिकाका एक बृद्धको कोरोनाले मृत्यु भएको कमल गाउँपालिकाका स्वास्थ्य शाखाका अधिकृत इन्द्र अर्यालले जानकारी दिएका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ८३ वर्षीय बृद्धको मृत्यु भएको हो ।
उनमा सुगर, प्रेसर र मृगौला ९किडनी० मा पनि समस्या रहेको थियो । कोरोना कारण झापाका दोस्रो ब्यक्तिको मृत्यु भएको हो । यस अघि दमकका एक ब्यक्तिको कोरोना संक्रमणले काठमाडौमा मृत्यु भएको थियो । कमल गाउँपालिकामा समुदायमा कोरोना संक्रमण देखिन थालेको छ ।
साउन ३२ गते उनको स्वाब परीक्षण भर भदौ ३ गते रिर्पोट आएको थियो । उनी शुरुमा लाइफलाइन अस्पताल दमक उपचारका लागि आएका थिए । त्यसपछि उनि बिएण्डसी अस्पताल गएका थिए । त्यहाँ जाँचको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । गत ९ गते अस्पताल भर्ना भएर कोरोना पुष्टि भएका उनको आज बिहान निधन भएको हो ।
उनको आफन्तसँग सम्पर्क हुन नसकेकाले दीर्घकालीन रोगबारे थाहा हुन नसकेको जनाइएको छ । बिहीबार साँझ पनि प्रतिष्ठानमा उपचाररत सिरहाका एक कोरोना संक्रमितको मृत्यु भएको थियो ।
प्रदेश २ अन्तर्गत सिरहाको सुखीपुर नगरपालिका–८ का ५८ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको हो । प्रतिष्ठानको मेडिसिन वार्डमा गत भदौ ६ गते भर्ना भएका उनमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।