एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा , महानगरीय ट्राफिक प्रहरी महाशाखा सिल

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना)मा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले महाशाखा बग्गीखाना पूर्णरुपमा सिल गरिएको छ।संक्रमण पुष्टि भएपछि महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित ३ सय ७५ जनालाई क्वारेन्टिनमा राखिएको छ। शुक्रबार महाशाखाका दुई जना ट्राफिक प्रहरीमा संक्रमण देखिएको थियो। त्यसपछि महाशाखालाई सिल गरिएको हो। ‘हामी यहाँबाट कोही पनि बाहिर निस्केका छनौँ, सबै (३७५) जना भित्रै सेल्फ क्वारेन्टाइनमा बसेका छौँ’, महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले भने ‘अन्य कसैलाई प्रवेश दिइएको छैन। पूर्ण लकडाउन सरह छ।’ संक्रमित दुई जनालाई बलम्बुस्थित एपिएफ अस्पतालमा पठाइएको छ।

महाशाखाबाट स्वाब परीक्षणको लागि नामावली पठाइसकेको छ भने क्वारेन्टिन बसेका ट्राफिक प्रहरीको केही दिनमा मात्रै स्वाब परीक्षण गरिने बताइएको छ ।

यद्यपि, उपत्यकाको ट्राफिक व्यवस्थापनमा भने यसले असर नपर्ने महाशाखाले जनाएको छ। महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।’सवारीको चाप बढी भएको ठाउँमा कम चाप हुने स्थानमा खटिएका ट्राफिकलाई ल्याएर खटाउँछौं। भएका जनशक्तिलाई नै मिलाएर परिचालन हुन्छ’, एसएसपी ढकालले भने।

पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमणको दर बढेर गएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ। त्यस्तै, प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाको स्कटिङ्मा खटिने सवारीका चालकलाई पनि कोरोना देखिएको छ। २ सय ५० भन्दा धेरै प्रहरीमा कोरोना संक्रमण देखिएको छ।

Share this:
Click to share on Twitter (Opens in new window)Click to share on Facebook (Opens in new window)

 
 
  
 

You may also like