पर्सामा थप ४५ जनामा कोरोना पुष्टि, मेयर सरावगीको परिवारमा पनि संक्रमण

पर्सा। पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको परिवारका दुई जनासहित थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा ३१ जना पुरूष र १४ जना महिला रहेका छन् । संक्रमित हुनेमा ५ वर्षकी बालिकादेखि ६२ वर्षका पुरूषसमेत रहेका छन् ।

संक्रमितमध्ये ४३ जना वीरगन्ज महानगरपालिका, एकजना पर्साको सखुवा प्रसौनी गाउँपालिका र एकजना ठोरी गाउँपालिकाको निर्मवस्तीका बासिन्दा हुन् । संक्रमित ४५ जनामध्ये वीरगन्जका मेयरको परिवारका दुई जना र उनका ४ जना कर्मचारीसमेत रहेका छन् । यसअघि गत बिहीबार काठमाडौँमा मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. उपाध्यायले जानकारी दिएअनुसार शनिबार राति संक्रमण पुष्टि भएका ४५ मा मास ट्रेसिङ र स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएकाहरु रहेका छन् । मास ट्रेसिङमा पिसिआर जाँच गराएका २९ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका ७ जना र कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जना रहेको मेसु उपाध्यायले जानकारी दिए ।

साउन १२ गते वीरगन्ज–४ स्थित कन्या स्कुलमा गरिएको स्वाब संकलनमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी साउन १५ मा वीरगन्ज– ११ श्रीपुर स्कुलमा गरिएको स्वाब संकलनमा १३ जना स्थानीयमा कोरोना संक्रमण देखिएको छ ।

साउन १६ मा वीरगन्ज चिनी मिलमा गरिएको स्वाब संकलनमा ६ जनामा कोरोना संक्रमण पोजिटिभ पाइएको छ । म्यागनस फर्मा औषधि उद्योगका ५ जना स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्सामा नयाँ थपिएका संक्रमितसहित अहिलेसम्म कुल संक्रमितको संख्या ५ सय ४ पुगेको छ। संक्रमित मध्ये १ सय ८८ जनाले कोरोना जितेर डिष्चार्ज पनि भइसकेका छन्।

Share this:
Click to share on Twitter (Opens in new window)Click to share on Facebook (Opens in new window)

 
 
  
 

You may also like