पहिरोले गुल्मीमा ६ घरपरिवार विस्थापित

गुल्मी ।अविरल वर्षाका कारण पहिरो खस्दा गुल्मीमा एक घर पुरिनुका साथै अन्य पाँचवटा घरमा क्षति पुगेको छ ।जिल्लाको चन्द्रकोट गाउँपालिका–८ अन्तर्गत पिपलपाटा नजिकै तुथुङमा आज बिहान खसेको पहिरोले स्थानीय टोपबहादुर दमाईको घर पुरिएको हो ।पहिरोका कारण सोही ठाउँका हर्कबहादुर दमाई, जयबहादुर दमाई र टिके दमाईको घर र गोठसमेत भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।

त्यसैगरी पहिरोका कारण चन्द्रकोट गाउँपालिकाअन्तर्गत उपल्लो तुराङमा सोभाखर सुनार र उनकी साहिली बुहारीको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।पहिरोले घरमा क्षति पुगेपछि विस्थापित परिवारले जनता बाल निकेतन माध्यमिक विद्यालयमा आश्रय लिएका छन् ।

यसैबीच वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि गुल्मीको चन्द्रकोट गाउँपालिका–७ खसीमारेमा एउटा मालबाहक ट्रक बगाएको छ ।सोमबार राति बुटवलबाट हार्डवयरका सामग्री लिएर चन्द्रकोट गाउँपालिकाको शान्तिपुर बजारतर्फ जाँदै गारेको ना ६ ख ७७९२ नम्बरको ट्रकलाई पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।सडकमा पहिरो खसेपछि सडक छेउमा रोकी राखेको अवस्थामा उक्त ट्रकलाई माथिबाट खसेको पहिरोले बगाएको हो ।

 
 
  
 

You may also like