थप १३० जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या १८ हजार ६१३ पुग्यो

काठमाडौं । नेपालमा थप १३० जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १३० जना संक्रमित थपिएको जानकारी दिएका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ४४० रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७५ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १३ हजार १२८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको प्रतिशत ७०।६ रहेको छ । त्यस्तै अहिले देशभरमा १७ हजार ९०३ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ४४० जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ६ जिल्ला कोरोना मुक्त भएका छन् । मनाङ, मुस्ताङ, रसुवा, संखुवासभा, भोजपुर र पांचथर रहेका छन् ।नेपालमा कोरोनाबाट अहिलेसम्म ४५ जनाको मृत्यु भएको छ ।

 
 
  
 

You may also like