जनार्दनले प्रचण्डलाई नै सहयोग गरिरहनु भएको छ : प्रचण्डको सचिवालय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पार्टी नेताहरुका विरुद्ध भइरहेको दुष्प्रचार बन्द गर्न आग्रह गरेको छ ।पछिल्ला दिनमा नेकपाको आन्तरिक वैचारिक बहसका विषयलाई लिएर भइरहेको गलत प्रचार तथ्यमा आधारित नरहेको पनि सचिवालयले स्पष्ट पारेको छ ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले आज ‘प्रेस नोट’ जारी गरी केही दिनयता पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माका सम्बन्धमा विभिन्न माध्यमबाट प्रकाशित–प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । पछिल्लो समय नेता शर्माले पार्टीलाई वैचारिक तथा सांगठानिक रुपमा थप एकताबद्ध बनाउन भूमिका निर्वाह गर्दै आएका छन् ।

‘आन्तरिक वैचारिक बहस एक जीवन्त पार्टीका विशेषताहरु हुन्, तिनै बहसका सम्बन्धमा मिडियामार्फत नेतामाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ’, सापकोटाद्वारा जारी प्रेस नोटमा भनिएको छ ।

पार्टी एकतादेखि आजसम्मको काममा नेता शर्माले अध्यक्ष दाहाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै अध्यक्ष दाहालको सचिवालयले अहिलेको पार्टीभित्रको आन्तरिक बहसमा पनि उनी पार्टी एकताका पक्षमा लागेको प्रष्ट पारेको छ । उनले नेता शर्मामाथि अध्यक्ष दाहालसँग जोडेर गरिएका भ्रामक प्रचारलाई खारेज गरेका छन् ।

गत असारमा बसेको नेकपाको स्थायी कमिटी बैठकमा नेता शर्माले एकताका लागि सबैले आ–आफ्नो अहम् छाडेर रुपान्तरित हुन जरुरी रहेको धारणा राखेका थिए । आफ्ना कमी कमजोरी स्वीकार्न, आफैलाई सच्चाउने, छलफल र बहस गर्दै नयाँ निष्कर्षमा पुग्ने विषयमा रुचीपूर्वक लाग्नुपर्नेमा जोड दिंदै उनले रुपान्तरणका साथ एकताबद्ध हुनुमै राष्ट्रको भविष्य रहेको बताएका थिए ।

 
 
  
 

You may also like