सीता गुफानजिकको सीमास्तम्भ उखेलियो, स्थानीयद्वारा प्रदर्शन

पर्सा। प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मस्थल भनेपछि चर्चामा आएको पर्साको ठोरीस्थित सीता गुफानजिकै रहेको सीमास्तभ उखेएिको छ । सीमा स्तम्भ उखेलिएपछि स्थानीय बासिन्दाले विरोध जनाएका छन् ।

ठोरी गाउँपालिका–२ स्थित सीता गुफानजिकै ३५ नम्बर सीमा स्तभ छ । शनिबार दिउँसो सीमा स्तम्भ उखेलिएको भेटिएपछि स्थानीय बासिन्दा सीमा क्षेत्रमा पुगेर प्रदर्शनमा उत्रिएका हुन् । ‘दिउँसो १२ बजेसम्म सीमा स्तम्भ ठीकै अवस्थामा थियो, तर दिउँसो ४ बजेपछि उखेलेर फालिएको अवस्थामा भेटियो,’ ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले भने ।

शनिबार बिहान ९ बजेदेखि कलशयात्रा, भजनकीर्तनसहित सीता गुफामा राम जन्मभूमि पूजा गरिएको थियो । यो ठाउँमा विभिन्न समयमा पूजाआर्चना हुँदै आएको छ । बिहान ठीकै अवस्थामा रहेको सीमा स्तम्भ दिउँसो उखेलेर फालिएको भेटिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । पाँच मिटर पर फालिएको उनको भनाइ छ ।

सीमा स्तम्भ फालिएको भेटिएपछि नेपाल र भारतका स्थानीय बासिन्दा सीमा क्षेत्र पुगेर विरोधमा उत्रिएका हुन् । दुवैतर्फका सुरक्षाकर्मी पनि सीमा क्षेत्रमा पुगेकाले विवाद बढ्न पाएन । सीमा क्षेत्रमा पुगेर स्थानीय बासिन्दाले होहल्ला गरे पनि सम्झाइबुझाइ फिर्ता ल्याइएको अध्यक्ष श्रेष्ठले बताए । ‘सीमानामा जनता जम्मा भएर मात्र समस्या हल नहुने देखेपछि भोलि छलफल गरौँला भनेर आ–आफ्ना नागरिक फिर्ता ल्यायौँ,’ उनले भने ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले सीमास्तभ उखेलेको नभएर ढलेको हुन सक्ने बताए । ‘डिटेलमा बुझ्दै छौँ, स्तम्भमा मान्छेहरू बसे होलान् र ढलेको हुन सक्छ,’ उनले भने । यस विषयमा आइतबार छलफल हुने उनले बताए । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like