निगमको नाफा १० अर्ब ८६ करोड

काठमाडौं । नेपाल आयल निगमले चालु आर्थिक वर्ष १० अर्ब ८६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको तुलनामा दुई अर्बभन्दा धेरै हो । गत वर्ष ८ अर्ब ७५ करोड मात्रै नाफा गरेको थियो ।

आव २०७२–७३ मा १९ अर्ब ३६ करोड नाफा गरेको निगमको त्यसपछि तीन आर्थिक वर्षमा नाफा घटेको छ । आव २०७३–७४ मा ९ अर्ब ४५ करोड, आव २०७४–७५ मा तीन अर्ब ५८ करोड र आव २०७५–७६ मा ८ अर्ब ७५ करोड नाफा गरेको थियो ।

निगमले पछिल्लो ५ वर्षमा २ खर्ब ५७ अर्ब ७६ करोड रुपैयाँ राजस्व तिरेको छ । निगमले आइतबार पत्रकार सम्मेलन गरी २०७६–७७ मा ६५ अर्ब रुपैयाँ, आव २०७५–७६ मा ६५ अर्ब ९३ करोड, आव २०७४–७५ मा ५५ अर्ब १ करोड, आव २०७३–७४मा ४७ अर्ब ७ करोड र आव २०७२–७३ मा २३ अर्ब ५४ करोड राजस्व बुझाएको जानकारी दिएको छ। निगमले भन्सार शुल्क, सडक मर्मत शुल्क, वातावरण खर्च, मूल्य अभिवृद्धि कर, पूर्वाधार विकास कर, आयकर र राजस्व शीर्षकमा सरकारले कर तिर्दै आएको छ ।

निगमले चालु वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँको कारोबार गरेको छ । चालु आर्थिक वर्ष अन्य शीर्षकको तुलनामा मूल्य अभिवृद्धि कर बढी बुझाएको छ । २५ अर्ब ५२ करोड मूल्य अभिवृद्धि कर तिर्दा गत वर्ष निगमले २९ अर्ब ३१ करोड राजस्व बुझाएको थियो । निगमले यस वर्ष कोरोना भाइरस (कोभिड १९) का कारण व्यवसायमा कमी आएको जनाएको छ ।

निगमले यस वर्ष भन्सार शुल्क १५ अर्ब १३ करोड बुझाएको छ । निगमले पूर्वाधार विकास शीर्षकमा १३ अर्ब ५२ करोड रुपैयाँ कर बुझाएको छ । यो शीर्षकमा निगमले प्रतिलिटर उठाइरहेको ५ रुपैयाँलाई बढाएर १० रुपैयाँ बनाएको छ । यसैगरी सडक मर्मत शीर्षकमा ५ अर्ब २ करोड राजस्व बुझाएको छ । वातावरण शीर्षकमा ३ अर्ब १ करोड राजस्व बुझाएको छ । यो वर्ष आयकर ३ अर्ब ८५ करोड बुझाएको छ ।

निगमका कार्यकारी प्रमुख सुरेन्द्रराज पौडेलले गत वर्षको तुलनामा ४ प्रतिशत कारोबार घटेको बताए । पछिल्लो समयमा एलपी ग्यासबाट निगमलाई नाफा भइरहेको उनले बताए । २०७६–७७ मा निगमले ५ पटक पेट्रोलियम पदार्थको मूल्य घटाउने र बढाउने गरेको थियो । निगमले कार्यविधि बनाएर मूल्य समायोजन गर्नुपर्ने भए पनि उपभोक्ताको हितलाई ध्यान दिँदै निर्णय गरेको बताए । अन्नपूर्ण पोष्टबाट

 
 
  
 

You may also like