भाटभटेनीको २० औं शाखा हेटौडामा शिलान्यास

हेटौंडा । नेपालकै वृहत चेन मार्केट भाटभटेनी सुपर मार्केटका २०औं स्टोर पुगेका छन् । बाग्मती प्रदेशको हेटौंडा शहरमा बन्ने भाटभटेनी सुपरमार्केटको स्टोर २०औं शाखाका रुपमा रहने छ । २०औं स्टोरको रुपमा हेटौंडामा बन्ने भाटभटेनीको बुधबार भूमि पुजा गरी शिलान्यास गरिएको सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराइले जानकारी गराए ।

भवनको सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । यस वर्षको अन्त्यसम्म निर्माण सम्पन्न गरी आगामी वर्षको सुरुवातमा उक्त स्टोर सञ्चालनमा ल्याउने गुरुङले जानकारी दिए ।सो अवसरमा उनले बाग्मतीको हेटौंडा शहरमा पनि भाटभटेनी सञ्चालनमा आउने कुराले आफू हर्षित भएको बताए ।

उनले भने ‘बाग्मतीको सुन्दर शहर हेटौंडामा भाटभटेनीको शिलान्यास गर्दानै शिघ्र सञ्चालनमा आउने विश्वासले खुशी लागेको छ । हामी आगामी नयाँ वर्षमा शुभारम्भ गर्ने लक्ष्यका साथ अगाडि बढेका छौं । अन्य शहरमा जस्तै यहाँपनि उत्साहजनक साथ र सहयोग मिल्नेमा विश्वस्त छौं ।’ साढे ८ कठ्ठा जग्गामा आधुनिक सुविधासम्पन्न भवन निर्माण गरी शाखा सञ्चालन गरिने उनले जनाए । हेटौंडामा भवन निर्माण र स्टोर सञ्चालन हुने भएपछि २ सय बढीले रोजगार पाउने उनले बताए । देशका विभिन्न स्थानमा स्टोर रहेको भाटभटेनीले पछिल्लो समय आफ्नो स्टोर विस्तारलाई तिव्रता दिएको छ ।यस अघि गत वर्षको मंसिर २६ मा रुपन्देहीको भैरहवामा सेवा शुभारम्भ गरेको थियो भने अर्को स्टोर पनि विस्तार गर्दै फागुन १६मा बाँकेको नेपालगञ्जमा पनि आफ्नो स्टोर सञ्चालन गरेको छ । त्यसैगरी छिट्टै नै पूर्वी नेपालको इटहरीमा अर्को स्टोर सञ्चालन गर्ने तयारीमा रहेको स्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ग्लोबल आवाजलाई जानकारी दिए ।

 
 
  
 

You may also like