नव नियुक्त आइजीपी थापाले भने, ‘बर्दीमा दाग लगाउनेप्रति निर्मम बन्छु

काठमाडौ । नव नियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी संगठनको छवीलाई सँधैं चम्किलो बनाउने कार्यमा आफू लाग्ने बताएका छन् ।

उनले प्रहरी संगठन कानून कार्यान्वयन गर्ने निकाय भएकाले कानून उल्लंघन गर्ने छुट कसैलाई नहुने प्रतिबद्धता जनाएका छन् ।
गृह मन्त्रालयमा दर्ज्यानी चिह्नबाट सुशोभित हुँदै आईजीपी थापाले आफू संगठनप्रति पूर्ण निष्ठाका साथ अगाडि बढ्ने दृढता व्यक्त गरेका छन् ।

संविधान, ऐन र नियमले निर्दिष्ट गरेको सीमाभित्र रहेर सरकारको निर्देशनमा सिङ्गो प्रहरी संगठनलाई साथ लिएर आफ्नो क्षमता र विवेकले भ्याएसम्म निःस्वार्थ जनताको अपेक्षामा खरो उत्रने इमानदार प्रयास गर्ने उनले बताए ।

क्षेत्रीले भने, ‘प्रहरी महानिरीक्षक एक्लैले सबै अपेक्षा पूरा गर्न सक्दैन, महानिरीक्षकको सफलता वा असफलता देश, सरकार संगठनको सफलता असफलतासँग गाँसिएको हुन्छ, यसका निम्ति उचित निर्देशन भरपर्दो सहयोगी र स्वस्थ्य आलोचनाको आवश्यकता हुन्छ । मेरो सफलता वा असफलता भनेको यिनै कुराहरुको समायोजन कसरी गर्ने भन्नेमा निर्भर गर्छ ।’

उनले कसैले पनि प्रहरीको बर्दीमा दाग लगाउने कोशिस गरे मात्र पनि त्यसविरुद्ध आफू निर्मम रुपमा प्रस्तुत हुने समेत बताए । आगामी दिनमा प्रहरी संगठनलाई संस्थागत निर्णयका आधारमा अगाडि बढाइने उनको भनाइ छ ।

यस्तै नवनियुक्त प्रहरी महानिरीक्षक थापाले आजै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन् । उनले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाइ अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रहरी प्रधान कार्यालय परिसरमा बिरुवा समेत रोपेका छन् ।

 
 
  
 

You may also like