कक्षा ११ मा यसै वर्षबाट नयाँ पाठ्यक्रम

काठमाडौं । यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको छ ।कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन नसकेपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको हो ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले नयाँ शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरिने जानकारी दिए ।

‘त्यसका लागि आवश्यक तयारी भइरहेको छ’, उनले भने । कक्षा १ मा पनि यसै वर्ष नयाँ पाठ्यक्रम लागू गर्ने तयारी छ । त्यसअनुसार अब कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले छ सय पूर्णाङ्कको अध्ययन गर्नुपर्नेछ । नयाँ पाठ्यक्रमअनुुसार अब नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन गरी तीन विषय अनिवार्य पढ्नु पर्नेछ ।

यसअघि कक्षा ११ मा नेपाली र अङ्ग्रेजी गरी दुई विषय मात्रै अनिवार्य थियो । ऐच्छिक विषय भने तीन वटा नै रहने छन् । विद्यार्थीले चाहेमा एक सय पूर्णाङ्कको थप एक विषयको परीक्षा समेत दिन पाउने छन् । गोरखापत्र दैनिकबाट

 

 
 
  
 

You may also like