नेपाल-भारत खुल्ला सीमा बन्द गरी दुबैतर्फ पाँच मिटरको पर्खाल लगाऊ : वामदेव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले नेपाल–भारतबीच सदियौंदेखि रहँदै आएको खुला सीमा बन्द गरी प्रवेशाज्ञा प्रणाली लागू गर्नुपर्ने बताएका छन् ।‘सीमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्छ,’ नेता वामदेव गौतमको सचिवालयद्वारा गौतमको धारणा भनी आइतबार जारी गरिएको वक्तव्यमा भनिएको छ ।

गौतमले नेपालले दुवै छिमेकी राष्ट्रसँग समस्या समाधान गर्न ‘युद्ध त के कल्पना पनि गर्न सकिन्न’ भन्दै त्यस्ता सवै समस्या शान्ति वार्तावाट नै समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले पटक–पटक उठ्ने सीमा विवाद समाधानका लागि प्रवेशाज्ञा लागू गर्ने तर निःशुल्क गर्नुपर्ने बताएका छन् ।

यस्तो छ गौतमको गौतमको वक्तव्य

पाटीको निर्णय र सर्वदलीय सहमतिमा भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेत समेटिएको नेपालको नयाँ नक्सा जारी गरी संघीय संसदका दुवै सदनवाट सर्वसम्मतिमा पारित गरेर सार्वजनिक गरेकोमां नेपाल सरकार, सवै राजनितिक पार्टी दुवै सदन, र संपूर्ण नेपाली जनतामा हार्दिक धन्यवाद वधाई र आभार प्रकट गर्छु ।

सिंगो राष्ट्रलाई एकतावद्ध गरी अतिक्रमित भूमिसहितको नेपालको नयाँ नक्सा जारी गरेर यो संघर्षमा ९९ प्रतिशत विजय हासिल भएकोछ । भारतीय सेना नेपाली भूमिवाट हट्दासाथ हामीले १०० प्रतिशत विजय हासिल गर्नेछौं ।

यसै सन्दर्भमा गरिएको महाकाली नदीको एकिकृत विकास सम्बन्धी सन्धि राष्ट्रघाती छ भनेर संयोजकको ह्वीप उल्लंघन गरेको आरोपमा म सहितका १६ जना एमालेका शिर्षस्थ नेताहरुलाई पार्टीबाट अन्यायपूर्वक निष्कासन गरिएको थियो ।

पार्टीबिरोधी भनेर हामीलाई लगाइएको आरोपसहीत पार्टीबाट निस्कासन गर्ने त्यसवेलाको एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले निर्णय गरियोस् ।

अव ढिला नगरी नेपाल–भारत बीच रहेको खुल्ला सीमाना वन्द गरी प्रवेशाज्ञा प्रणाली लागू गर्नुपर्छ । प्रवेशाज्ञा भने निःशुल्क उपलव्ध हनुपर्छ । सीमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्छ ।

हाम्रा दुवै छिमेकी राष्ट्रसँग रहेका नेपालका कुनै पनि समस्या समाधान गर्न युद्ध गर्ने त कुरै छाडौ कल्पना पनि गर्न सकिन्न। सवै समस्या शान्तिवार्तावाट नै समाधान गर्नुपर्छ ।

(वामदेव गौतम, उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

 
 
  
 

You may also like