यी हुन् नेपाली बैंकबाट अर्बौं लुट्न चीनियाँ ह्याकरहरु

by समतल अनलाइन

काठमाडौं, १५ भदौ । प्रहरीले नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्न सक्रिय ५ जना चाइनीज नागरिकलाई पक्राउ गरि सार्वजनिक गरेको छ। उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दरबारमार्गबाट पक्राउ गरेको हो ।

उनीहरु १३ गते साँझ नेपाल आएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीका अनुसार उनीहरु बैंकका ग्राहकको खाताबाट अवैध रुपमा करोडौं रकम निकाल्न चीनमै योजना बनाएर नेपाल प्रवेश गरेको खुलेको छ । शनिबार (नेपालमा विदा) भएको दिन बैंकको एटिएम लुटेर भोलिपल्टै चीन फर्किने योजनामा थिए ।

आइतबार पत्रकार सम्मलेन गर्दै महानगरीय प्रहरी प्रवक्ता उत्तम राज सुवेदीले भने ‘हाम्रो अनुसन्धानमा अवैधरुपमा रकम निकाल्न तीनवटा एटिएम बुथ प्रयोग भएको छ’ ‘दरबारमार्गस्थित नबिल बैंक, ठमेलको हिमालयन बैंक र प्रभु बैंकको एटिएमबाट रकम झिकिएको भेटिएको छ।’ सुवेदीका अनुसार ह्याकरहरुले एक पटकमा २० हजार भन्दा धेरै रकम निकालेको भेटिएको छ।

‘ह्याकरहरुले व्यक्तिको भन्दा सिधै बैंककै खातामा आक्रमण गरेको भेटियो । बैंककै खाताबाट रकम निकालेको जानकारी आएको छ’ सुवेदीले भने, ‘रकम निकाल्न प्रयोग भएका डिभाइसहरु पनि बरामद भएका छन्। एक पटकमा २०/२० हजार मात्रै निकालेको देखिँदैन ।

त्यो भन्दा धेरै रकम निकालेको जानकारी हामीलाई आएको छ।’ सुवेदीले सिसिटिभी फुटेज पनि हेरिरहेको जानकारी दिए। ‘हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौैँ,’ उनले भने, ‘थप अनुसन्धानका लागि अन्य प्रविधि पनि प्रयोग गरिरहेका छौँ । केही प्रविधि प्रयोग गरेर बढी रकम निकालेको देखिन्छ ।’

पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् । १ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ र केही विदेशी रकमसमेत बरामद भएको छ ।

यसैबीच,राष्ट्र बैंकले शनिबार चिनियाँ ह्याकरले नेपालका बैंकका एटीएम मेसिन ह्याक गरी करोडौं रकम निकालेको विषयमा प्राविधिक विषयको अनुसन्धान थालेको छ। राष्ट्र बैंकको विशेष टोलीले अनुसन्धान थालेको र साँझसम्ममा त्यसको प्रतिवेदन तयार हुने जनाइएको छ ।

Share this:

 
 
  
 

You may also like