कोरियाबाट २२६ नेपाली स्वदेश फर्किदै, सोही जहाजमा १६१ जना जाँदै

मलेसिया, कतार, साइप्रस र बंगलादेशबाट पनि आजै उडान

काठमाडौं। विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि आज पाँच उडान हुने भएको छ ।आज कोरियाबाट कोरियन एयर लाइन्समार्फत २२६ जना नेपालीहरु स्वदेश फर्कर्दै छन् । प्रवेशाज्ञा अवधि सकिएका तथा नेपाल फर्कनु पर्ने आवश्यकता हेरेर सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको जनाइएको छ ।

तीमध्ये अवैधानिक बसोबास गरेका अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेकामध्येबाट १५, बिरामी, ३६ जना गर्भवतीसहित कोरियामा रोजगारी वा अन्य शिलशिलामा रहेर प्रवेशाज्ञा अवधि सकिएर नेपाल फर्कन नसकेकाहरू रहेको गैरआवासीय नेपाली सङ्घ कोरियाका महासचिव विमल सुवेदीले जानकारी दिएका छन् ।

यात्रुले टिकट बापत झण्डै ८५ हजार रुपैयाँ तिरेका छन् । यसका साथै नेपाल पुगेर अनिवार्य बस्नु पर्ने १४ दिनको क्वारेन्टिन र क्वारेन्टिन अवधि सकिएपछि घर पुग्नुपर्ने सम्पूर्ण खर्च स्वयमले बेहोर्नुपर्ने बताइएको छ । यो जहाजमार्फत १६१ जना आजै कोरिया फर्कने छन् ।

कोरियाबाट बिदामा आएका, साथमा भिसाको अवधि भएका र श्रम स्वीकृति भएका नेपालीहरु फर्कन लागेको इपीएस कोरिया शाखाले जनाएको छ । साउदीको दमामबाट हुने भनिएको हिमालय एअरलाइन्सको चार्टर्ड उडान भने रद्द भएको छ ।

आजै मलेसिया, कतार, साइप्रस र बंगलादेशबाट पनि नेपालीहरु स्वदेश फर्कंदै छन् । साइप्रस मलेसिया र कतारको दोहाबाट नेपाल एयर लाइन्सले त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान भर्नेछन् भने बंगलादेशबाट हिमालय एअरलाइन्सले नेपालीलाई ल्याउने जनाइएको छ ।

 

 
 
  
 

You may also like