नेपालीको प्रतिरोधी क्षमता राम्रो छ त्यसकारण कोरोनाबाट कम मृत्यु – प्रधानमन्त्री ओली

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको रोग प्रतिरोध क्षमता राम्रो भएको आफ्नो जिकर फेरि दोहोर्‍याका छन् । बिहीबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उनले रोग प्रतिरोध क्षमता राम्रो भएकैले नेपालमा कोरोना भाइरस संक्रमणबाट कम मृत्यु भएको बताए ।

प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भएको र अधिकांशको मृत्यु कोरोनाकै कारण मात्र नभएको जिकिर गरे । प्रधानमन्त्रीले नेपालीको प्रतिरोध क्षमता राम्रो भएकाले नेपालमा कम मृत्यु भएको दाबी गरे ।

केही दिनअघि प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र यसअन्तर्गतका निकायहरूको बजेटसम्बन्धी उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपालीको आहारविहार र हिमालबाट ठोक्किएर आएको हावाका कारण नेपालीको रोग प्रतिरोध क्षमता राम्रो भएको जिकिर गरेका थिए ।

प्रधानमन्त्री ओलीको यस्तो जिकिरको विज्ञहरूले आलोचना गर्दै आएका छन् । प्रधानमन्त्रीले भनेको जस्तो प्रमाणित तथ्य नरहेको उनीहरूको भनाइ छ ।

राष्ट्रियसभामा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले अरु कारणले मृत्यु भएकाहरुमा पनि संक्रमण देखिएपछि कोरोनाकै कारण मृत्यु भएको मान्नुपर्ने डब्ल्युएचओको मापदण्डले नेपालमा मृतक बढेको जस्तो भएको जिकिर गरे ।

कोरोनाका कारण मानिसलाई मानसिक र आर्थिक तनाव पनि थपिएको बताउँदै उनले आफू पनि आर्थिक समस्या झेलेर आएकाले गिटी कुट्नेको समस्यासमेत बुझेको बताए ।

‘अहिलेको प्रधानमन्त्रीले शहर पनि देखेको छ गाउँ पनि देखेको छ सुगम पनि देखेको छ दुर्गम पनि देखेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘ गिटी कुट्ने, भारी बोक्नेका समस्याहरूदेखि दैनिक रोजगारी गरेर गुजारा गर्नुपर्नेका समस्या पनि अहिलेको प्रधानमन्त्रीले बुझेको छ ।’

त्यसैकारण सरकारले कोभिड – १९ आउनुभन्दा अगाडिदेखि नै ‘नेपालमा कोही भोकै पर्दैन भोकले मर्न पर्दैन’ भन्ने नारा दिएको उनले बताए ।

 
 
  
 

You may also like