तीन जिल्लामा किसानको झण्डै चार अर्ब क्षति

नेपालगञ्ज। बाँके र बर्दियामा यस वर्ष फौजी किराले १४ हजार २ सय ६४ हेक्टर क्षेत्रफलको धान क्षति भयो । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार त्यसबाट १५ हजार ३ सय ६ घरधुरी प्रभावित भए । बाँकेमा मात्र ९० प्रतिशत क्षति भएको छ ।

जिल्लाका १३ हजार ३ सय ९१ हेक्टरको धान उत्पादनमा क्षति भयो । जसबाट जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकामा मात्र ७ हजार ७ सय ७४ हेक्टर क्षेत्रफलमा क्षति भएको छ ।

डुडुवामा २ हजार १ सय ३२ हेक्टर, जानकीमा १ हजार ८ सय हेक्टर र नरैनापुरमा एक हजार पाँच सय ६९ हेक्टरमा क्षति भयो । बर्दियाको ८ सय ७३ हेक्टरमा धानमा क्षति भएको छ । मधुवन नगरपालिकामा ३ सय ८६ हेक्टर, बाँसगढी नगरपालिकामा २ सय हेक्टर र ठाकुरबाबा नगरपालिकामा १ सय ३९ हेक्टरमा क्षति भएको छ ।

गत वर्षको उत्पादनसँग तुलना गर्दा यस वर्ष किसानले बाँकेमा ५६ करोड ९४ लाख रुपैयाँ र बर्दियामा ४४ करोड ५५ लाख रुपैयाँ गरी किसानले एक अर्बभन्दा बढीको क्षति व्यहोर्नु प¥यो । यस आर्थिक वर्षमा धान मात्र होइन, बाँके र बर्दियामा खाद्यान्न बाली, दलहन, तेलहन, लहरे बाली र तरकारीमा कम्तीमा पनि ४ प्रतिशतदेखि बढीमा ७६ प्रतिशतसम्म क्षति भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाउँछ ।

बमौसमी वर्षाका कारण यो वर्ष दुवै जिल्लामा गहुँको उत्पादन बढेको देखिन्छ । क्षेत्रफल वृद्धि भएकाले उत्पादन बढेको देखिए पनि उत्पादकत्व भने ३ देखि ७ प्रतिशतसम्म घटेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल बताउँछन् ।

खजुरा गाउँपालिकाको स्मार्ट कृषि गाउँका धेरै किसानले करेला, टमाटर र काँक्रो उत्पादन नै लिन पाएनन् । लकडाउनका बेला विषादी किन्ने पसल बन्द भएका कारण किसानले क्षति व्यहोर्नुपरेको स्मार्ट कृषि गाउँका संयोजक लालबहादुर खत्री बताउँछन् । स्मार्ट कृषि गाउँकै ५० बिघाको टमाटर र ५ बिघाको काँक्रामा क्षति भयो । यहाँको मकै पनि अमेरिकन फौजी किराले सखाप पा¥यो

खजुरा–२ सीगाउँका गेनालाल मुराउले १० हेक्टर क्षेत्रफलमा लगाएको टमाटर बेमौसमी वर्षाका कारण एउटा पनि उत्पादन लिन पाएनन् । ‘नौ लाख रुपैयाँ लागेको खर्च नै डुब्यो’, उनले दुःखेसो पोखे, ‘अघिल्लो वर्ष हरेक दिन ४० क्विन्टल टमाटर बेच्थें। यस वर्ष एक दाना पनि बजार गएन । अलि–अलि बचेको टमाटर लकडाउनका बेला चौपायाले खाएर सके ।’

बेमौसमी वर्षा, किराको प्रकोप र लकडाउनका कारण एक वर्षमा मात्र दुई जिल्लामा ३ अर्ब ६२ करोड २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । बर्दियामा एक अर्ब ८७ करोड ३७ लाख ४१ हजार रुपैयाँ र बर्दियामा एक अर्ब ७४ करोेड ८५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

औसत बजार मूल्य राखेर निकालिएको यो हिसाब बजारको वास्तविक मूल्यअनुसार गर्दा अझै धेरै क्षति भएको हुन आउने कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको भनाइ छ । अन्नपूर्ण पोस्ट दैनिकबाट

 

 
 
  
 

You may also like