देशव्यापी बन्दै आन्दोलन

काठमाडौं। कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै युवाले काठमाडौंसहित मुलुकका विभिन्न सहरमा सरकारविरुद्ध प्रदर्शन चर्काएका छन् ।सार्वजनिक स्थलमा सभा, समारोह, भीडभाड र प्रदर्शन गर्न नपाउने सरकारको निर्णय अवज्ञा गर्दै ‘नेतृत्वविहीन’ र ‘असंगठित’ समूहले प्रदर्शनलाई निरन्तरता दिएका छन् ।कोरोनाको पीसीआर परीक्षण दायरा बढाउनुपर्ने, क्वारेन्टाइन र आइसोलेसन सुधार गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई सुरक्षितसाथ नेपालमा ल्याइनुपर्ने, स्वास्थ्य सामग्री खरिद अनियमितता छानबिन हुनुपर्ने, खर्च पारदर्शी बनाउनुपर्नेलगायत मागसहित उनीहरू सडकमा उत्रिएका छन् ।युवाले शुक्रबार काठमाडौं उपत्यकाका साथै बुटवल, भैरहवा, कपिलवस्तु, गोरखा, तनुहँ, उदयपुर, हेटौंडा, काभ्रे, पाल्पामा प्रदर्शन गरे । राजधानीमा ‘कोभिड–१९ नेपाल इनफ इज इनफ’ समूह बनाएर सरकारविरुद्ध मौन प्रदर्शन आह्वान गरिएको छ । त्यस्तै ‘वेक एन्ड सेभ लाइभ्ज नेपाल’ नामको फेसबुक समूहबाट पनि आन्दोलन आह्वान गरिएको छ ।

फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालबाट आन्दोलनका लागि आह्वान गरिएको छ । शुक्रबार सरकारविरुद्ध काठमाडौंमा ७ र भक्तपुर र ललितपुरमा २र२ स्थानमा प्रदर्शन भए ।

थानकोटरगुर्जुधारा, कलंकी, माइतीघर, सल्लाघारी, सूर्यविनायक, भूगोलपार्क, वसन्तपुर, पागा दोबाटो (कीर्तिपुर), मूलपानी, झम्सीखेल, पेप्सिकोला र पुलचोकमा प्रदर्शन भएको थियो । प्रदर्शन बढ्दै जाँदा कोभिड–१९ संक्रमण फैलिने जोखिम छ । प्रदर्शन नेतृत्वविहीन र असंगठित भएकाले ‘स्थिति नियन्त्रण’ मा लिन कोसँग समन्वय गर्ने भन्नेमा पनि सुरक्षाकर्मीहरूलाई अन्योल थपिएको छ ।

प्रदर्शनमा विपक्षी दलका नेता, कार्यकर्ता पनि परिचय लुकाएर सडकमा आएका छन् । धेरैजसो प्रदर्शनमा विवेकशील नेपाली दलका नेतारकार्यकर्ताहरूको उपस्थिति देखिएको छ ।

भक्तपुरको प्रदर्शन कांग्रेस, विवेकशील र साझा पार्टी समर्थितको उपस्थिति रहेको प्रहरी स्रोतले बताएको छ । विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेले सरकारका बेथितिविरुद्ध पार्टीगत रूपमा नभई स्वस्फूर्त रूपमा भएका आन्दोलन र प्रदर्शनमा आफूहरूको ऐक्यबद्धता रहेको बताए ।

बुधबार बालुवाटार घेराउ गर्ने क्रममा खुर्सानीटार क्षेत्रमा विवेकशीलका वरिष्ठ नेता उज्ज्वल थापा नै उपस्थित थिए । थापासहितको भीडलाई पानीको फोहोरा हानेर प्रहरीले तितरबितर पारेको थियो ।

शुक्रबारको सूर्यविनायक–सल्लाघारीमा भएको प्रदर्शनमा कांग्रेस जिल्ला सभापति दुर्लभ थापा नै सहभागी भएका थिए । प्रदर्शनप्रति जनता समाजवादी पार्टी र साझा पार्टीले पनि ऐक्यबद्धता जनाएका छन् । सरकारविरुद्ध चर्किएको गैरराजनीतिक र असंगठित आन्दोलन भनिए पनि यसको ‘जस’ लिन संसद्मा विपक्षी र बाहिर रहेका दलहरूबीच नै प्रतिस्पर्धा देखिएको छ ।

शान्तिपूर्ण आन्दोलन र विरोध प्रदर्शन गर्दा स्थानीय प्रशासनलाई पूर्वजानकारी दिनुपर्ने भए पनि त्यस्तो देखिएको छैन । गृह मन्त्रालयले लकडाउन उल्लंघन र संक्रमणको जोखिमलाई बेवास्ता गर्दै भएका आन्दोलन तथा प्रदर्शन नियन्त्रणमा लिन बिहीबार निर्देशन दिएको थियो ।

तर युवाले मुखुन्डो लगाएर र हातहातमा प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गर्न भ्याए । बुधबार र बिहीबार बालुवाटार क्षेत्रमा भएका प्रदर्शनमा प्रहरीले बल प्रयोग गरे पनि शुक्रबार प्रदर्शन शान्त रहेको प्रहरीका एक अधिकारीले बताए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले ‘हेल्थ प्रोटोकल’ पालना गरेर ५ जनासम्मलाई भेला हुन दिने व्यवस्था भएको उल्लेख गर्दै त्यसभन्दा बाहेकका प्रदर्शन, भीडभाड र विरोधका कार्यक्रम गैरकानुनी हुने बताए । गृह मन्त्रालयबाट पनि गैरकानुनी र कोरोना संक्रमण फैलाउने गरी कुनै पनि प्रदर्शन हुन नदिन स्पष्ट निर्देशन आएको बताए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पनि गैरकानुनी रूपमा हुने जुनसुकै हूलहुज्जत तथा भीड नियन्त्रणमा लिइने र सोहीअनुसार एक्सनमा जान सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताए ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले विरोध प्रदर्शन गर्नुपूर्व स्थानीय प्रशासनबाट अनुमति लिनुपर्नेमा लकडाउन नै उल्लंघन गरेर असंगठित जमात आन्दोलनमा उत्रिएकामा आफूहरूले गम्भीर रूपमा लिएको बताए ।

‘न लकडाउन पालना भयो, न संक्रमण फैलिन सक्ने जोखिमप्रति नै प्रदर्शनकारीहरू संवेदनशील देखिए । यसबाट आम मानिसको स्वास्थ्यमा खेलबाड हुनुका साथै विधि र कानुनको पनि उल्लंघन भएको छ,’ उनले भने । कान्तिपुर दैनिकबाट

 
 
  
 

You may also like