पिता नभएकालाई सोध, बुबाको महत्त्व के हो ?

by समतल अनलाइन

‘बुबा’ यत्ति सम्बोधनले तपाईंको मानसपटलमा कस्तो आभास हुन्छ ? तपाईंले भन्ने उत्तर, ‘मेरो आदर्श’, ‘मेरो पथप्रदर्शक’, ‘मेरो प्रगतिको कारक’, ‘मेरो हौसलाको स्रोत’, ‘मेरो असल साथी’…यस्तै यस्तै धेरै । तपाईंले अहिले सिक्नु भएको सबै श्रेय आफ्नो बुबालाई नै जान्छ । आमाको ममताबाट हुकिर्ने बालक बुबा संर्घष हेर्दै अघि बढ्छ । त्यसैले त बुबाको अर्थ यो ‘ब्रम्हाण्ड’भन्दा व्यापक छ ।

सामाजिक सञ्जालमा भेटिने प्रेरक कुरा मध्ये एक यस्तो प्रेरक कुरा भेटियो जसले सबैलाई एक पटक अड्याएर सोच्न बाध्य बनाउँछ । त्यहाँ भनिएको थियो, ‘बुवाको महत्त्व बुझ्नु छ भने, बुवा नभएकाहरुलाई सोध।’

हुनपनि मातापिताको जस्तो निस्वार्थ प्रेम कसैबाट प्राप्त हुन्न् । आर्थिक रुपले सम्पन्न र पैसाले नै सबथोक खरिद गर्छु भन्ने घमण्ड राख्नेले पनि अन्त्यमा भन्ने गर्दन्, ‘मैले कमाएको पैसाले सबै थोक किने तर, मेरो जन्मदिने बुबाआमा कतैं पाइँन ।’

एक सन्तानका लागि, आमाबुवाको भुमिका समान हुन्छ। ममतामा बाँधिएका हामीले आमालाई भन्दा कम प्राथमिकतामा राखेको हो कि भन्ने भान पनि हुनेगर्छ ।

नेपाली संस्कारमा, कथा, कविता वा फिल्ममा आमाको ममता झल्काउँदै बाबुलाई कठोर र प्रगतिको बाधक देखाइएका घटना पनि धेरै छन् । तर, तपाईले आफैं महशुस गर्नुहोस् तपाईले पाएको माया, ममता र स्नेहमा बुबाआमालाई फरक देख्नुहुन्छ ? पटक्कै यो हुँदैन पनि । आमाले ९ महिना गर्भमा बोकेको बच्चाको भविष्य निर्माण गर्न बुबाले प्रत्येक पल नयाँ नयाँ कल्पना गरेको हुन्छ ।

समाजिक रुपमा पिता सन्तानको सुरक्षा, सहायता, र जिम्मेदारी निभाउने ब्यक्तिको रुपमा परीचित छन् । सन्तान उत्पादन हुन नारीको अतिरिक्त जुन पुरुषको सहयोग हुन्छ, उनैलाई पिता भनिन्छ । वैज्ञानिक दृष्टिमा नारीको कोखमा विर्य दिने ब्यक्ति नै पिता हुन् । अधिकाशंलाई थाहा छ, कुनै पनि सन्तानको लिंग निर्धारणमा उसको पितामा निर्भर रहन्छ । तर पिता जैविक रुपमा मात्र नभई पालनहारका रुपमा स्थापित छन् ।

संस्कृत शब्द ‘पितृ’बाट बनेको पिताको रुप एक शब्द अनेक छन् । बुवा, बा, बापु, बाप, वालिद, बाबा, अब्बा, पापा, ड्याडि, फादर पिता आदी शब्दबाट पुकारिन्छ । पिताबाटै हरेक ब्यक्तिको नाम र पहिचान पुर्ण हुन्छ । पिता ती अनमोल रत्न हुन् जसको आर्शिवाद विश्वको सबैभन्दा ठुलो सफलता प्राप्त गर्ने आधार बन्छ ।

दुनियाँका सबै बैंक खाली भएपनि सन्तानका लागि पिताको गोजी सँधै भरी हुने मान्यता राखिन्छ । जहाँ आवश्यकता भन्दा पहिले इच्छापुर्ति गर्ने क्ष्ँमता हुन्छ । एक सन्तानको जीवनमा पिताको स्थान सबैभन्दा महत्वपूर्ण र शीर्ष स्थानमा हुन्छ । आर्दश सन्तान बनाउने पिताको संघर्ष एक विशाल तपस्या हो । सन्तानको पालनपोषण नैतिक मूल्य, मान्यता, अनुशासन, शिष्टाचार र संस्कार सिकाउने प्रथम गुरु नै पिता हो । अधिकांश धार्मिक शास्त्रमा पितालाई उच्चस्थानमा राखी व्याख्या गरिएको हुन्छ ।

न तो धर्मचरणं किंचिदस्ति महत्तरम् ।
यथा पितरि शुश्रूषा तस्य वा वचनक्रिपा ।।

पिताको सेवा वा उनको आज्ञाको पालन गर्नु जस्तो ठुलो कुनै धर्माचरण छैन ।

वाल्मीकि रामायण, अयोध्या काण्ड

ज्येष्ठो भ्राता पिता वापि यश्च विद्यां प्रयच्छति ।
त्रयस्ते पितरो ज्ञेया धर्मे च पथि वर्तिनः ।।

दाजु, पिता तथा जसले विद्या दिन्छन्, ती गुरु हुन् । यी तीनै ब्यक्ति धर्म मार्गमा स्थित रहने पुरुषका लागि पिता समान माननीय हुन्छन् ।

वाल्मीकि रामायण, किष्किन्धा काण्ड

दारुणे च पिता पुत्रे नैव दारुणतां व्रजेत् ।
पुत्रार्थे पदःकष्टाः पितरः प्राप्नुवन्ति हि ।।

पुत्र क्रुर स्वभावका भए पनि पिता उसप्रति निष्ठुर हुन सक्दैनन्, किनकी पुत्रका लागि पिताहरु कष्टदायक विपत्ति झेल्नु पर्दछ ।

हरिवंश पुराण, विष्णु पर्व

जनिता चोपनेता च, यस्तु विद्यां प्रयच्छति ।
अन्नदाता भयत्राता, पंचैते पितरः स्मृताः ।।

यी पाचलाई पिता भनिन्छ, जन्मदाता, उपनयन (ब्रतबन्ध) गरीदिने ब्यक्ति, विद्या दिने गुरु, अन्नदाता दिने ब्यक्ति र पालन गर्ने ब्यक्ति ।

धर्मशास्त्र अनुसार विद्या दिने गुरु, जन्म दिने पिता, कन्या दिने ससुरा, अन्न दिने कृषक वा पालन पोषण गर्ने व्यक्ति तथा डर र त्रासबाट रक्षा गर्ने व्यक्ति पिता समान हुन्छन् । धर्तिमा भगवानको ज्युदो रुप मानिने मातापिताको ऋण दुनियाँको सबैभन्दा ठुलो ऋण हो । जसलाई सन्तानले कुनै मुल्यले चुकाउन सक्दैनन् ।

हरेक पिताको चाहना हुन्छ, आफ्ना सन्तानले आफ्नो जिम्मेवारी बुझेर त्यसको पालना गरुन् । पिताले आँसुबाट मुस्कान निकाल्ने क्ष्ँमता राख्छन् । समुन्द्रभन्दा विशाल, आकाशभन्दा व्यापक रहेका पितालाई ब्रम्हाण्डसँग् तुलना गरिन्छ । त्यसैले त भनिन्छ पितासँग खेल्ने सन्तानलाई त्यहाँ भित्र आउने हलचलबारे थाहा हुदैन । कसैको डर, धम्कि वा असहज परिस्थितमा पनि पिताको अंकमालमा पुग्नासाथ हामी आफुलाई सुरक्षित पाउछौ।

बुबाले कठोर बन्नुको बाध्यता

यतिखेर एउटा सानो उदाहरण उपयुक्त होला । भर्खरै पिता बनेका एक मित्र आफ्नो सन्तान बिरामी भएपछि अस्पताल लिएर । चेकजाँचका क्रममा डाक्टर बच्चाबाट परीक्षणका लागि रगत निकाले बच्चासँगै आमा पनि डाको छोडेर रोए । तर त्यहीँ रहेको बाबु भने अवरुद्ध भएको गला सम्हाल्दै, आँखाको डिलमा छचल्किएको आँसु थाम्दै दुवैलाई सम्हाल्न थाले ।

उनी बाहिर आएर भने, ‘बच्चो रोएको देखेर भक्कानिँए । तर, उसकी आमालाई थाम्न गाह्रो होला भनेर कठोर बने।’ यो आम बाबुको बाध्यता हो । जसले आफ्नो सन्तानलाई सिकाउन, व्यवहारिक बनाउन, अनुशासनमा राख्न कोमल मनलाई कठोर देखाएर अभिनय गरिरहेको हुन्छ ।

सन्तानका खुसिमा सामेल बुवा हाँसेको नदेखिएला तर उनले हास्न दिएको स्वतन्त्रताको मोल सन्तानले बुझ्न सक्नुपर्छ । सन्तानको दुःख बुझ्ने बुवाले सन्तानको सुख कसरी नबुझ्लान् ।

बुबाको उत्तराधिकारी सन्तान

नेपाली कानून अनुसार बुवाको मृत्युपछि बिना कुनै झन्जटिलो प्रकृया छैन । सन्तानलाई स्वतः पैत्रिक सम्पति दिने प्रावधान छ । वारिसका आधारमा कुनै व्यक्तिको पैतृक सम्पत्ति आफ्नो हिस्सामा पार्न कानूनी अधिकार छ ।

बुबाआमाबाट अधिकार लिन शक्तिशाली बनेका सन्तान भने पछिल्लो समय आफ्नो ज्यान जोखिममा राखेर हुकाउने, बढाउने मातापिताप्रति नै अनुदार बन्दै गएका छन् । पितासंग सौहार्दपूर्ण वातावरण बनाउन नसक्दा मातापिताका अप्ठेरा, दुःख र पीडामा सन्तानले मल्हम लगाउन सकेका छैनन् । सानामा सन्तानको खुट्टामा ठेस लाग्दा मुटु चसक्क भएको महशुस गर्ने पिता आज सन्तानको हेय भाव खप्न बाध्य छन् ।

पछिल्लो समय भावनात्मक सम्बन्ध पनि देखावटी बन्न थालेको छ । सामाजिक सञ्जालको लतमा फसेका सन्तान बुबाआमाको सम्मान भन्दापनि सामाजिक सञ्जालमा धेरै लाइक, कमेन्ट र इन्गेज्मेन्टको अपेक्षासहित प्रतिस्पर्धामा उत्रनका लागि मात्र सम्मान गर्ने गर्दछन् ।

आदर्श सन्तानका लागि बुबाको मुखहेर्ने दिनमात्र होइन । प्रत्येक दिन बुबाको सम्मानका लागि हुनुपर्छ । चार्डको विशेष महत्व त होला तर, भावना चार्डको दिन एक र अरु ३६४ दिन फरक हुनु हुँदैन ।

तपाईं आफैं कल्पना गर्नुहोस त, बुबाले सन्तानका लागि गरेको त्याग, तपस्या र संर्घष एक दिनको सम्मान र एक सेल्फीले पूरा होला ? बुबालाई खुसी बनाउन धेरै गर्नै पर्दैन । थोरै बेर सँगै बसेर कुरा गर्नुहोस्, हालखबर सोध्नुहोस, दुःखसुखको कुरा गर्नुहोस् । यो भन्दा ठूलो सम्मान उहाँका लागि केही हुने छैन । कहिकतै पिताको मन दुखाउनु भएको छ भने पनि तपाईको सामिप्यता र सौहाद्रपुर्ण सम्बन्धले तपाईहरुबीचको तित्तता हराएर जान्छ ।

त्यसैले भगवान रुपि मातापिताको मन नदुखाउनुहोस् । गल्ति भए क्षमा माग्नुहोस् । सेवा गर्नुहोस् । खुशी दिनुहोस् । तब मात्र तपाई आफ्नो अस्तित्व प्राप्तिमा सफल हुनुहुनेछ ।

 
 
  
 

You may also like