गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु , कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा ३ पुग्यो

बुटवल । गुल्मीका ४१ वर्षीय कोरोना संक्रमितको रुपन्देहीस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा विहिबार बिहान मृत्यु भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि गरेका गुल्मी मदाने गाउँपालिका–६ का ती पुरुषको उपचारकै क्रममा विहिबार बिहान ७ बजेर १० मिनेट जाँदा मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले पुष्टी गरे ।

‘आज विहान ७ बजेर १० मिनेटमा उहाँको मृत्यु भएको हो । शव व्यवस्थापनका लागि तयारी चलिरहेको छ ।’ डा. चौधरीले भने ।

यद्यपी, स्वास्थ्य निर्देशनालयले हरेक दिन गर्ने नियमित पत्रकार सम्मेलनमार्फत् मृत्युको पुष्टीहुन बाँकी नै छ । अस्पताले भने केही बेरमा नै आधिकारीक जानकारीसहित विज्ञप्ती जारी गर्ने बताएको छ ।

विहिबार विहान मृत्युवरण गरेका संक्रमित जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका थिए । शुरुमा आईसीयूमा उपचाररत उनलाई कोरोना पुष्टि भएपछि भने अस्पतालकै भेन्टिलेटरमा राखिएको थियो ।

क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एक हप्ता पहिल्यैदेखि उनमा ज्वरो देखिएको चिकित्सकहरुले बताएका छन् । ज्वरो आएपछि गाउँकै पुर्कोट दहस्थित मदाने पोलिक्लिनिकमा जाँच गराएका उनी त्यहाँ सञ्चो नभएपछि मोटरसाइकलनै अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकमा पुगेका थिए । त्यहाँ स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई मणिग्रामको क्रिमसन अस्पताल रिफर गरिएको थियो ।

यसअघि बुधबार नै सामाजिक विकास मन्त्री सुदर्शन बराल र तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई उद्धृत गर्दै थाहाखबरसहित केही सञ्चारमाध्यमहरुमा संक्रमितको मृत्यु भएको भन्ने समाचारहरु प्रकाशित भएका थिए । उक्त कुरालाई खण्डन गर्दै अस्पताल प्रशासनले बुधबार मध्यान्हमा अस्पतालले विज्ञप्ती जारी गर्दै विरामीको मृत्यु नभएको बरु अवस्था गम्भिर रहेको बताएको थियो ।

विहिबार अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य महाशाखा प्रमुख डा. चौधरीले पुष्टी गरेका हुन् । संक्रमितको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । सअघि सिन्धुपाल्चोकको बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका क्वारेन्टाइनमा बसेका पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो ।

 
 
  
 

You may also like