लिम्पियाधुरा-लिपुलेकसहितको नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौं। सरकारले आज (बुधबार) नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो भारतले अतिक्रमण गर्दै आएको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भू–भागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभाग बाहेकको नेपालको क्षेत्रफल एक लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ ।

नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक काम कारबाही समेत अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । भारतले सन् १८१६ को सुगौली सन्धिले नेपालकै भूभाग भनी किटान गरेको भूमि हुँदै मानसरोबर जाने बाटाको ट्रयाक खोलेपछि नेपाल जवाफ दिन बाध्य भएको हो ।

मंगलबार संघीय संसद्का दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका भूमि फिर्ता ल्याएरै छाड्ने प्रतिवद्धता जनाएका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।

 
 
  
 

You may also like