बागलुङ-बुर्तिबाङ सडक खण्ड एक महिना दैनिक ८ घण्टा बन्द

by समतल अनलाइन

बाग्लुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महिना दैनिक ८ घण्टा सडक बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङमा बुधबार बसेको सरोकारवालाहरुको बैठकले बागलुङ नगरपालिका–३ खहरे क्षेत्रमा रहेको चट्टानसहितको पहरो कटानका लागि झण्डै एक महिना खहरे खण्डको बाटो बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, बागलुङका प्रहरी उपरीक्षक, अर्जुनवाण गण बिहुँका सेनानी, मध्यपहाडी लोकमार्गका प्रमुख, काठेखोला गाउँपालिका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको बैठकले एक महिना दैनिक ८ घण्टा सडक बन्द गर्ने निर्णय गरेको हो ।

यस खण्डअन्तर्गतको जिल्ला सदरमुकामदेखि काठेखोला गाउँपालिका–१ अक्षेतेसम्मको सडक विस्तारका लागि दिनको आठ घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो । आगामी भदौ १८ देखि असोज १७ गतेसम्म बिहान ७ः३० देखि ९ः३० सम्म र पुनः १०ः३० देखि अपराह्न ४ः३० सम्म बाटो बन्द गरिने बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए ।

सडक बन्दका क्रममा बागलुङको अक्षेतेदेखि पाला, मूलपानी हुँदै बागलुङ बजार आउने वैकल्पिकमार्ग प्रयोग गर्न सकिनेछ । सिकिस्त बिरामीका हकमा लोकमार्ग आयोजनाले सडक खुलाएर गन्तव्यतर्फ जाने व्यवस्था गर्नेछ । बागलुङ बजारदेखि घोडाबाँधेसम्म २५ किलोमिटर सडक अहिले विस्तारकै चरणमा छ । बागलुङ बजारदेखि घोडाबाँधेसम्म दुई निर्माण कम्पनीले जिम्मा लिएर काम गरिरहेको भए पनि केही महिना काम रोकिएको थियो ।

खहरे खण्डसम्म सिद्धि शाही/प्रकाश जेभी र बिहुँ खण्डको सडक निर्माण गर्ने जिम्मा लिएको एपी/इलाइट/सूर्य कन्स्ट्रक्सन जेभीले सडक निर्माणको कामलाई तीव्रता दिने बताएका छन् । २५ मिटर फराकिलो हुने यस सडकमा कालोपत्र भने आठ मिटरको मात्रै गरिने निर्माण कम्पनीले जानकारी दिएका छन् ।

सडकखण्डमा जाली लगाउने, नाली बनाउने, ग्राभेल गर्नेलगायतका काम सम्पन्न भएको भए पनि बीच–बीचमा चट्टान कटान गर्नुपर्नेछ । सडकमा सवारीसाधन सञ्चालन भइरहँदा काम गर्न कठिनाइ र दुर्घटनाको जोखिमसमेत भएकाले तीव्रगतिमा काम सक्नका निम्ति पनि सवारी आवागमनलाई बन्द गर्नुपरेको मध्यपहाडी लोकमार्गका प्रमुख आशिष थापामगरले बताए ।

 
 
  
 

You may also like