भरतपुर कोरोना अस्पतालको सामान कर्मचारीद्धारा चोरी गरेको भिडियो सार्वजनिक

चितवन ।कोरोना संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालका सरसामान रातारात चोरी भएको छ । अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामान बाहिर निकालेको भिडियो संचारमाध्यामलाई प्राप्त भएको छ ।

खनाल नेपाल निजामती कर्मचारी संगठन चितवनका जिल्ला अध्यक्ष हुन् भने बराल अस्पताल विकास समिति कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष हुन् । उनीहरूले स्टाण्ड फ्यान, सर्जिकल मास्क, कम्प्युटरको स्क्रिन, स्यानिटाइजर, चप्पल, ग्लुस्टिक, साबुन, लामखुट्टे भगाउने धुप, बेगन लगायतका सामान तीन पोका बनाएर निकालेको देखिन्छ ।

वीरगञ्जका बिरामी सन्तोष यादवको मृत्यु भएसँगै विवादमा परेपछि यो कोरोना अस्पताललाई भरतपुर अस्पतालको शाखा बनाउने निर्णय गरिएको थियो । भरतपुर अस्पताल मातहत चलाउने सम्झौता नै भएको थियो गत चैत २१ गते । भरतपुर अस्पतालले वैशाख १ गते दिउँसो सामानहरूको विवरण बुझेको थियो । खनाल, बराल र तिवारीले चैत ३० गते राति ९.३० बजेसम्म बसेर सामानहरू उठाएका थिए ।

उनीहरूले केही सामान आ–आफ्ना घर लगेका र केही नारायणगढको एक सर्जिकल पसललाई बेचेको स्रोत बताउँछ । आरोपीहरूले भने भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखामा लगेको दाबी गरेका छन् । महानगरका लेखापाल खनालले आफूहरूले सामान चोरी नगरेको दाबी गरे । राति मोबाइल बालेर सामान उठाउनुको कारण सोध्दा उनले भने, ‘दिउँसो नभ्याएर राति लैजानु परेको हो ।’

भरतपुर अस्पतालको स्टोर शाखा प्रमुख केशव सापकोटा कोरोना अस्पतालबाट केही थान मास्क र पीपीई मात्र ल्याएको बताए । ‘हामीले वैशाख १ गते स्टोर जिम्मा लिएपछि एक जना मान्छे पनि खटाएका छौँ’, उनले भने, ‘त्यसभन्दा अगाडिको कुरा हामी जान्दैनौँ ।’

भिडियोमा लेखापाल खनालले इलेक्ट्रिसियन सन्तोष कुमारलाई हात हालेको पनि देखिन्छ । कुमार जाइलागेपछि खनाललाई जोगाउन बराल बीचमा आएको देखिन्छ । पेस्की रकमको बिल नदिएपछि कुटपिट गरेको लेखापाल खनालले स्वीकार गरे ।

छानबिन समिति गठन

कोरोना अस्पतालको सामान चोरी र अनियमिता छानबिन गर्न सोमवार तीन सदस्यीय समिति गठन भएको छ । उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल समितिको संयोजक तोकिएका छन् । सदस्यमा भरतपुर महानगरपालिका र भरतपुर अस्पतालका एक–एक जना रहनेछन् ।

समितिलाई छानबिन गरी एक हप्ताभित्र कार्यदलमा प्रतिवेदन बुझाउन भनिएको छ । भरतपुर अस्पतालले चोरीमा संलग्न भनिएका बराल र महानगरपालिकाले लेखापाल खनाल र स्वास्थ्य अधिकृत सुवेदीलाई फिर्ता बोलाएको छ ।

भिडियो :

 
 
  
 

You may also like