क्वारेन्टाइनमा बसेकामा औंलो पनि भेटियो, १२ जनाले जिते कोरोनालाई

हालसम्म ४९ हजार ३३६ जनाकाे कोरोना परीक्षण

काठमाडौं। देशका विभिन्न जिल्लामा क्वारेन्टाइनमा बसेका केहिमा औंलोको लक्षण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तर, कहाँको क्वारेन्टाइनमा रहेका कतिमा औंलोको लक्षण देखिएको भन्नेबारे सम्पूर्ण जानकारी प्राप्त भइनसकेको मन्त्रालयले जानकारी दिएको छ । आज (शनिबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा हालसम्म ४९ हजार ३३६ जनामा कोरोना परीक्षण गरिएको बताइएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ‘आरडीटी’ बाट ३९ हजार ६७० जनाको परीक्षण गरिएको र ‘पीसीआर’ बाट नौ हजार ६६६ जनाको परीक्षण गरिएको जानकारी दिएका छन् ।

गर्मीयाम शुरु भएसँगै औंलोको खतरा पनि बढेको भन्दै डा. देवकोटाले क्वारेन्टाइनमा रहेकाहरुमा पनि औलो देखिएको जानकारी दिएका छन् ।

यस्तै, हाल प्रदेशहरुमा २५ हजार ४४६ जनाको आरडीटी परीक्षण गरिएको भन्दै डा. देवकोटाले प्रदेश नम्बर–५ मा सबैभन्दा बढी सात हजार ९५६ जना ‘क्वारेन्टाइन’ मा रहेको र सबैभन्दा कम वाग्मती प्रदेशमा रहेको जानकारी दिए ।

यता भरतपुरको कोरोना अस्पतालमा उपचारमा रहेका २७ वर्षीय युवक पनि निको भएसँगै कोरोनालाई जित्नेको संख्या १२ पुगेको र अझै ३७ जना विभिन्न अस्पतालमा उपचारमा रहेको उनले जानकारी दिए ।

सो अवसरमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर समस्या देखिए मात्र अस्पताल आउन आग्रह गरे ।

 

 
 
  
 

You may also like