‘बसाइँ हिंड्नेको ताँतीले बस्नेको मन रुँदछ लाखौंको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’

काठमाडौं । पृथ्वी राजमार्ग, लकडाउनको २३ औं दिन । पछिल्ला दिनमा जस्तै बिहीबार पनि राजमार्गमा ट्रक र केही अत्यावश्यक सेवाका यातायातका साधन मात्र गुडिरहेका थिए । सडक किनारमा भने पैदल यात्रुको भीड ।

वैशाखकोे दिन, मध्याह्नको चर्को घामले तातिएको सडकमा पैताला खियाउँदै, पसिना बगाउँदै हिंडिरहेका यी मजदुर घुम्न राजधानी आएका होइनन् । पसिना बगाउन र देश बनाउन आएका यिनै पौरखीलाई अप्ठ्यारो वेलामा राज्यले उपेक्षा र्गयो, त्यसैले उनीहरू आफ्नै गाउँतर्फको यात्रामा ताँती लागेका छन् ।

चितवनको मौवाखोला किनारमा एक हुल यात्रु सुस्ताइरहेका थिए । उनीहरूमध्ये धेरैको खुट्टामा जुत्ता छैन । चप्पल थिए, हिंड्दा हिंड्दा खिइसके । सुन्निएका खुट्टालाई एकछिन आराम दिन बसेका उनीहरूको यात्रा आधा पनि भएको छैन, गन्तव्य हो– बर्दिया, रोल्पा, सल्यान र दाङ । कति दिन लाग्ने हो ? कहाली लाग्छ भनेर उनीहरू हिसाब गर्न पनि तयार छैनन् ।

आफ्नै खुट्टाले पोलिरहेको छ । दाङ, देउखुरीका घनश्याम चौधरी सिन्धुपाल्चोकको बाह्रबिसेबाट हिँडेका हुन् । ३० चैतमा बाह्रबिसेबाट हिँडेका चौधरीले बाटैमा नयाँ वर्ष आएको पत्तो पाएनन् ।

३५ वर्षे चौधरी भन्छन्, ‘रात दिन नभनी हिंडेको ।’ थकानको त कुनै सीमा छैन । डेग चल्न नसक्ने भएपछि उनी यसरी नै सुस्ताउँछन्न् । गन्तव्य सम्झिएर एकैछिनमा हिँड्न थाल्छन् । निर्माण मजदुरको रूपमा काम गर्ने चौधरी भन्छन्, ‘आफूसँग पैसा थिएन ।

ठेकेदारले काम नभएको भन्दै पुरानो पैसा दिएन । दुई दिन त गाउँलेसँग मागेर खाएँ । मागेको खाएर कतिन्जेल बाँचिएला भनेर हिँडेको ।’ हिँडेकै दिनदेखि चौधरीको पेटमा भात परेको छैन । ‘बाटोमा मान्छेहरूले चाउचाउ, पानी दिन्छन् त्यही खान्छु,’ उनले भने ।

२१ वर्षीय सुरेश विक काभ्रेमा इँटाभट्टामा काम गर्थे । रोल्पा जान हिँडेका सुरेशले तीन दिनको यात्रा तय गरिसके । उनको टोलीका साथीहरू निदाउन पाएका छैनन् । उनी भन्छन्, ‘सुत्ने ठाउँ पाए निदाउन मन छ, तर कहाँ पाउनु सुत्ने ठाउँ ? मौका मिलेको वेला सडककिनारमै आराम गर्ने हो, त्यहीँ निदाउने हो ।’

जीवनका लागि ‘लङमार्च’मा हिँडेका सुरेश र उनका साथीले गजुरीमा ट्रक पाए, खुसी हुँदै चढे । तर, खुसी लामो समय टिकेन किनकि केही पर मात्रै प्रहरी चेकिङ थियो । डराएका चालकले सबैलाई ओराले । उनीहरू ओर्लिनासाथ ट्रक दौडियो । पोका–पन्तुरा ट्रकमै छुट्यो । ‘ज्याकेट, गुन्टा सबै ट्रकमै थियो,’ सुरेश भन्छन्, ‘अब यो टिसर्टमा मात्र कसरी घर पुग्ने होला ?’

ललितपुरको चापागाउँमा निर्माण मजदुरको काम गर्ने दिलबहादुर चौधरी र उनका ६ जना साथी आफ्नो घर बाँके जान भनेर १९ चैतमै निस्किएका थिए । ‘हामीलाई ठेचोबाटै पुलिसले फर्कायो, तर बस्ने–खाने व्यवस्था थिएन ।

चाउचाउ पनि किन्न नसक्ने भएपछि ३ गते राति १० बजे उपत्यका छाडियो,’ उनले भने । प्रहरीको आँखा छलेर काठमाडौंबाट निस्कन पाउनुलाई नै उनले जीवनको सबैभन्दा ठूलो उपलब्धि मानेका छन् । यो वेलामा सरकारले गाँस, वास र कपासको व्यवस्था गर्नुपथ्र्यो, राज्य भन्ने परिकल्पना त्यसैका लागि बनेको हो भन्ने हेक्का उनलाई छैन ।

चर्को घामलाई पन्छाउँदै एकैछिनमा झमझम पानी र्पयो । सडक किनारमा सुस्तसुस्त हिँडिरहेका जागुराम थारू दौडिँदै छेउको पेट्रोलपम्पमा ओत लागे । यी पैदल यात्रुलाई घाम र पानी दुवैले दुःख दिन्छ । काठमाडौंमा निर्माण मजदुरको काम गर्ने थारू भन्छन्, ‘काम रोकियो, भोकले बस्न नसकेपछि हिंडेको ।’

थारूलाई लकडाउन भएको थाहा थियो । ‘साहुले काम गरेको पैसा दिन्छ कि भनेर यति दिन पर्खिएँ,’ थारू निराश हुन्छन्, ‘साहुले पैसा दिएन, आफूसँग भएको पनि सकिएपछि हिंडेको ।’ थारूको काँधमा आठ जनाको परिवार पाल्ने जिम्मेवारी छ । यसपटक मजदुरी नै नलिएर घर हिँडेका उनी भन्छन्, ‘घरमा आस त गरेका होलान्, तर आफै कसरी पुग्ने हो, ठेगान छैन ।’

महाकालीकिनारको जिल्ला कञ्चनपुर पुग्न हिँडेका छन् नारद राना । उपत्यकाबाट ४ वैशाख बिहानै हिँडेका उनी चर्को घाममा हिंड्नै सकेनन् । ‘घामको रापमा हिँड्नै सकिएन,’ पानी परेकाले उनलाई अलिक सन्तोष भएको छ, भने, ‘अब शीतल हुन्छ कि ?’

बिहीबार साँझ परिसकेको थियो, धादिङको इच्छाकामना गाउँपालिकाको सडककिनारको पेट्रोलपम्पमा ५० जनाभन्दा बढी यात्रु ओत लागेर बसिरहेका थिए । उनीहरूमध्ये कतिपयले ट्रक रोक्ने प्रयास पनि गरे, तर ट्रक तीव्र गतिमा कुँदिरहेका छन् । चालक पनि प्रहरीबाट लखेटिएका छन्, मान्छे बोक्ने अनुमति उनीहरूलाई छैन ।

यही भीडमा छन् सिन्धुपाल्चोकबाट सल्यान पुग्न हिंडेका दलबहादुर कुँवर । विद्युत् टावर निर्माणको काम गर्ने कुँवर थाकेर बोल्नै नसक्ने भएका छन् । चाउचाउ र बिस्कुटको भरमा सिन्धुपाल्चोकबाट उनले १ वैशाखमा सल्यानको यात्रा सुरु गरेका हुन् । बस्ने ठाउँमा रासन भएको भए उनी यो यात्राको दुस्साहस गर्ने थिएनन् । ‘रासन सकियो, पेट भोकै हुने भयो, बाँचिन्छ कि भनेर निस्किएको हुँ,’ उनी भन्छन् ।

उपत्यकामा ह्युमपाइप र इनारको रिङ बनाउने रानालाई साहुले धोका दिए । ‘साहुले पैसा पनि दिएन । आफै भाग्यो,’ हाफप्याइन्ट र चप्पल लगाएका राना सुनाउँछन् । उनलाई न आफ्नो साहुको नाम थाहा छ, न आफूले काम गर्ने उद्योगको । मुस्किलले नेपाली बुझ्ने रानाले १३ जनाको परिवार पाल्नुपर्छ ।

पैसा नलिई घर जाँदै गरेका रानालाई परिवार पनि भोकै मर्छ कि भन्ने चिन्ता छ ।
धादिङ गजुरी, सडककिनारको चौतारीमा सुस्ताइरहेका छन् चन्द्रशेखर यादव र उनका ११ जना साथी । नुवाकोटबाट हिँडेका उनीहरू रूपन्देहीको मर्चवार पुग्ने योजनामा छन् । यी १२ जना कसैको पनि खुट्टामा जुत्ता छैन । नुवाकोटको इँटाभट्टामा काम गर्ने यादव भन्छन्, ‘हामीले त सुरुमा केही थाहा पाएनौं ।’

नुवाकोटबाट खोला किनारैकिनार हिँडेका यादव भन्छन्, ‘रातभर निदाएका छैनौँ ।’ यादव र उनका साथीहरू बुधबार हिँडेका हुन् । मधेसी लवजका कारण आफूलाई धेरैले भारतीय ठानेकोमा उनी थप दुःखी छन् । २१ वर्षका यादवको घरमा ६ जना छन् । घरमा कमाउने उनी मात्र हुन् । घर जाने यो लस्करमा युवा मात्र होइन, वृद्ध पनि छन् । रोल्पा पुग्न हिँडेका ५५ वर्षीय तिलकराम डाँगी थकाइ मेट्दै थिए । लौरी काखी च्यापेर निदाउने प्रयासमा थिए उनी ।

त्यही लौरीको भरमा उनी हिँडेरै रोल्पा पुग्ने यात्रामा छन् । तर, चितवनको सीमा नटेक्दै खुट्टा सुन्निएका छन् । थानकोटको इँटाभट्टामा काम गर्ने डाँगीसँग जम्मा पाँच सय रुपैयाँ छ । उनीजस्तै लस्कर लागेर राजमार्गमा हिंडिरहेका यात्रुसँग साधन र स्रोत सीमित छ, यात्रा असीमित । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like