बुटवल कोरोना अस्पतालमा सुरु भयो भेन्टिलेटर र आईसीयू

  • आईसीयूसहित एक पटकमा २० जनालाई राखेर उपचार गर्न मिल्ने

बुटवल। बुटवलमा रहेको धागो कारखानामा बनाइएको कोरोना विषेश अस्थायी अस्पतालमा भेन्टिलेटरसहितको आइसियू जडान गरिएको छ।कोराना संक्रमणबाट जटिलता देखिएका बिरामीलाई लक्ष्य गरी अस्पतालमा चार वटा भेन्टिलेटरसहित आठ वटा आइसियू जडान गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए।

उनले एक पटकमा २० जनालाई उपचार गर्न मिल्ने गरी आइसियू कक्ष निर्माण गरिएको जानकारी दिए। बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको संयुक्त प्रयासमा सञ्चालन गरिएको उक्त कोरोना अस्पतालमा भेन्टिलेटर तथा आइसियूलगायत उपकरण खरिद गर्न विभिन्न संघसंस्थाले सहयोग गरेका हुन्। संघसंस्थाहरुले अस्पतालका लागि हालसम्म ४० लाख रुपैयाँ सहयोग गरिसकेको बुटवल उपमहानगरले जानकारी दिएको छ। यसअघि मुख्यमन्त्री शंकर पोखरेलले उक्त अस्पतालको निरीक्षण गर्दै अन्य अस्पतालहरुमा समेत उपकरणको जोहो गर्न लागिपरेको बताए। प्रदेशभर ४ वटा कोरोना विषेश अस्पताल रहेका छन्।

भेन्टिलेटरसहितका आइसियू कक्षाको निरीक्षण गर्दै बुटवल उपमहानगर प्रमुख शिवराज सुबेदीले निजी क्षेत्रबाट पनि उत्साहपूर्वक सहयोग आइरहेको बताए। प्रदेश ५ मा अहिले १० जनालाई आइसोलेसनमा राखेर उपचार गरिँदै छ।

 
 
  
 

You may also like