मृगौला बिरामीका लागि निशुल्क बस

२६ चैत्र २०७६, बुधबार

बुटवल । लकडाउनका कारण सवारी साधन नचल्दा मिर्गौलाको डायलाइसिस गर्नुपर्ने विरामी समस्यामा परेपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले निःशुल्क बस संचालन गर्ने भएको छ । दुईवर्ष देखि नवलपरासीको बर्दघाट, तिलोत्तमाको मणिग्राम सम्म दैनिक निःशुल्क बस सेवा संचालन गर्दै आएको अस्पतालले विहिबारदेखि कपिलवस्तुको वाणगंगा नगरपालिकाको बनगाई सम्म निःशुल्क बस संचालन गर्ने भएको हो ।

नियमित रुपमा मिर्गौलाको डायलाईसिस गर्न आउने कतिपय विरामीहरु लकडाउनको कारण महंगो भाडा तिरेर एम्बुलेन्स मार्फत अस्पताल आउनुपरेको थियो भने कतिपय बुटवलमै कोठा भाडामा लिएर बस्न बाध्य थिए ।
हप्तामा दुईपटक डायलाईसिस गराउनुपर्ने भएपनि कतिपय कपिलवस्तुका विरामी लकडाउनका कारण अस्पतालमा बस्न बाध्य भएपछि बस संचालन गर्न लागिएको अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष एजाज आलमले अधिकांश विरामीहरु हप्तामा दुईदिन मिर्गौला डायलाईसिस गर्नुपर्ने अवस्थाका भएकोले विहिबार र सोमबार हप्ताको दुईदिन कोईली बनगाईसम्म बस संचालन गर्न लागिएको जानकारी दिए ।

 

विहिबार र सोमबार विहान नौं बजे बनगाईबाट छुट्ने भएकोले नौं बजेभित्र सडकमा आईपुग्न अस्पतालले विरामीहरुलाई आग्रह गरेको छ । हाल फरकफरक दिनमा डायलाईसिस गराउंदै आएका सो क्षेत्रका विरामीहरुको समय विहिबार र सोमबार मिलाएर भएपनि सेवा दिन लागिएको अध्यक्ष आलमले जानकारी दिए । डायलाईसिसको लागि विहान अस्पताल ल्याएका बिरामीहरुलाई डायलाइसिस गरि सकेपछी सांझ ४ बजे बनगाई सम्म नै छोड्ने अस्पतालले जनाएका छन् ।

कपिलवस्तु सम्म बस सेवा संचालन हुने भएपछि बुटवलदेखि पश्चिम सैनामैना, सालझण्डी, रुद्रपुर समेतका सबै विरामीलाई राहत मिल्ने छ । हाल बुटवलदेखि पश्चिम कपिलवस्तुसम्मका ६४ जना विरामी नियमित डायलाईसिसको लागि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आउने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया