भगवान श्रीकृष्णको पूजा गरि श्रीकृष्ण जन्माष्टमी मुलुकभर मनाइयो

by समतल अनलाइन

काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्व भगवान श्रीकृष्णको पूजा आराधना गरि मुलुकभर मनाईएको छ । भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक बर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ ।

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको साथै मुलुकभरका कृष्णमन्दिरहरुमा भक्तजनहरुको ठूलो घुँईचो लागेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको पाटन स्थिति कृष्ण मन्दिर पुगी प्रसाद ग्रहण गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले मन्दिरभित्र प्रवेश नगरिकनै पुजारीबाट फूल प्रसाद ग्रहण गरि फर्कनु भएको थियो ।

राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्वागत गर्नुभएको थियो । राष्ट्रपतिको सवारीका क्रममा ललितपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्नुको साथै दर्शनार्थीहरुलाई पनि केही समय मन्दिरमा पूजा आजा गर्न रोकिएको थियो । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानव अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा अवतरण गरेको किम्बदन्ती छ ।

यसैगरी कृष्ण जन्माष्टमीकै अवसरमा काभ्रेको बनेपामा आठ हजार पाँच सय कन्याको पुजा गरिएको छ । काभ्रे तथा आसपासका सिन्धुपाल्चोक, भक्तपुर जिल्लाका रजस्वला नभएका ८ हजार पाँच सय कन्या पुजित गरिएको हो । विक्रम सम्बत् १९५९ वाट सुरु भएको वैदिक कन्या पुजा गर्नाले मनले चिताएको मनोभावना पुरा हुने धार्मिक विश्वास रहेको छ ।

त्यस्तै गोठाटारमा रहेको नवतनधामका साथै देशभरका अन्य कृष्ण मन्दिरमा भव्यरुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी मनाइएको छ । विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति संगीत गाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

 
 
  
 

You may also like