कास्कीमा कोरोना संक्रमित भेटिएको छैन : प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख शर्मा

काठमाडौं।’ कास्कीको पोखरामा कुनैपनि कोरोना संक्रमित नभेटिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर विनोद बिन्दु शर्माले बताएका छन् । यसअघि विभिन्न सञ्चारमाध्यममा सातौँ कोरोना संक्रमित नेपालमा भेटिएको भन्ने समाचार प्रकाशित भएपछि लोकपथ डटकमले शर्मालाई सम्पर्क गरेको थियो । लोकपथसँग उनले भने, ‘कोरोना संक्रमण सम्बन्धि रिपोर्टमा कोहिपनि पोजेटिभ भएकोबारे मलाई जानकारी आएको छैन ।’

तर कोरोनाको सम्पूर्ण जानकारी दिने वल्र्डोमिटरले भने नेपालमा ७ जनामा कोरोना संक्रमित देखिएको जनाएको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएअनुसार राष्ट्रियजनस्वास्थ्य प्रयोगशाला टेकुमा हिजो गरिएको परिक्षणमा एउटा पोजेटिभ आएको थियो । हिजो भेटिएका पोजेटिभ भएका व्यक्ति आर ६५२ फ्लाईटबाट चैत्र ४ गते नेपाल आएका थिए । यसअघि सोहि फ्लाईटमा आएका दुई जनामा कोरोना संक्रमण देखिएको थियो । हाल उनीहरुको आईसोलेसनमा राखेर उपचार भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालमा जम्मा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये एकजना उपचारपछि घर फर्किएका छन् भने पाँच जनाको विशेष निगरानीमा उपचार भइरहेको छ । सरकारले कोरोना संक्रमण नफैलियोस् भनेर ११ दिनयता लकडाउन गरेको छ ।

*सच्याइएको– यसअघि गण्डकी प्रदेश सरकार मातहतकै स्वास्थ्य निर्देशनालयका अधिकारीको सूचना र आधिकारिक वेवसाइटमा उल्लेख गरिएको विवरणका आधारमा प्रकाशन गरिएको कास्कीमा भटिए सातौ कोरोना संक्रमित भन्ने समाचार सच्याइएको छ । आधिकारिक सरकारी निकायबाट भएको गलत सूचना प्रवाहको कारण आम पाठकमा पर्न गएको भ्रम र त्यसले पारेको असरप्रति हामी क्षमाप्रार्थी छौं

 
 
  
 

You may also like