बुटवल। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जिल्लामा रहेका स्वास्थ्य संस्थामा कोरोनाभाइरस रोकथाम र उपचारमा प्रयोग हुने सामग्री पुर्याउन सुझाव दिएको छ।
स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामाग्री, मास्कलगायतका स्वास्थ्य सामाग्री र उपकरण छिटो जिल्लाका अस्पताल र स्वास्थ्य संस्थामा पुर्याउन कांग्रेसले आग्रह गरेको हो।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई टेलिफोन गर्दै जिल्लाका स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री पठाउन आग्रह गरेका हुन्।
सरकारले चीनबाट खरिद गरि ल्याएका सामग्री सातै प्रदेश र ७७ जिल्लामा आवश्यकता हेरेर पठाउन खाँणले स्वास्थ्यमन्त्रीलाई आग्रह गरेका हुन्।
उपकरण र स्वास्थ्य सामग्री निजी अस्पताललाई पनि उपलब्ध गराउन सके परीक्षण गर्ने संख्या वृद्धि हुन सक्ने खाँणले बताएका छन्।
आवश्यक पर्ने स्वास्थ्य सामग्री अभाव हुन दिनु हुँदैन,’ खाँणले भनेका छन्। कोरोना रोकथाम र नियन्त्रणमा खटिएकाहरूलाई राज्यले मनोबल उच्च हुने गरी सुविधा दिनुपर्ने उनले बताए।
स्वास्थ्यमन्त्री ढकालले सोमबार नै प्रदेशहरूमा स्वास्थ्य सामग्री पठाउन सुरू गरेको जवाफ दिएका छन्। थप सामग्री चैत २१ गतेभित्र आउने र अन्य स्वास्थ्य संस्थामा पनि पठाउने उनले बताएका छन्।