कोरोना आशंकामा उपचाररत दुई जनाको वीर अस्पतालमा मृत्यु, रिपोर्ट आउन बाँकी

काठमाडौं । कोरोना संक्रमणको आशंका काठमाडौंको वीर अस्पतालमा उपचाररत दुई जनाको आज (सोमबार) मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरी नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला रहेको जनाइएको छ ।

दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ । तर रिपोर्ट आउन बाँकी रहेको वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिएका छन् ।

निमोनियाको समस्या देखिएकी महिलालाई आइतबार साँझ अस्पताल ल्याइएको थियो । उनको सोमबार विहान मृत्यु भएको हो । ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

‘उनी भारतबाट यही साता नेपाल आएको जानकारी आफूहरुलाई भएको बताउँदै वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले भने, ‘यहाँ ल्याउँदा ज्वरो पनि थियो, सास फेर्न पनि गाहो भइरहेको थियो ।’

उनले थपे, ‘हामीले कोरोनाको शंका गरेर उनको नमुना टेकु ल्याबमा पठाएका छौं । यहाँ उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो ।’ ती युवती चन्द्रागिरी नगरपालिका–१५ बासिन्दा भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

 
 
  
 

You may also like