कोरोना संक्रमणबाट मृत्यु भएका लिम्बूको परिवार बिनै दाहसंस्कार

काठमाडौं। अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका गैरआवासीय नेपाली अनिल लिम्बूको शुक्रबार दाहसंस्कार गरिएको छ ।

कोरोना संक्रमणपछि उपचाररत लिम्बूको मंगलबार बिहान मृत्यु भएको थियो । शुक्रबार सबै प्रकृया पूरागरी अस्पतालको संयोजनमा निजी कम्पनीमार्फत दाहसंस्कार गरिएको हो ।

परिवारका अन्य सदस्य समेत भाइरसका कारण बिरामी परेको र समुदायका व्यक्तिहरु समेत सहभागी हुन कठिनाई भएका कारण लिम्बूको दाहसंस्कारको जिम्मा न्यूयोर्कको बु्रक्लिनमा रहेको ग्रिनउड सिमेट्री नामक नजी कम्पनीलाई दिइएको थियो ।

उक्त कम्पनीले करिब १२ सय अमेरिकी डलर लिएर लिम्बूको शुक्रबार दिउसो २ः३० बजे दाहसंस्कार गरेको हो ।

न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइट क्षेत्रमा बसोबास गर्दै आएका ५० वर्षीय लिम्बूलाई स्थानिय कोरोना संक्रमणपछि एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । नेपालमा पाँचथर रानीगाउँ घर भएका लिम्बू करिब दुई दशकदेखि अमेरिकामा थिए । लिम्बूका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।

लिम्बूले मधुमेह र उच्च रक्तचापको औषधी प्रयोग गर्दै आएको पारिवारिक स्रोतले जनाइएको छ । उनका जेठा छोरालाई पनि कोरोना संक्रमण देखिएको थियो तर केही दिनको उपचारपछि उनी निको भएका छन् ।

जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले भने, ‘हाम्रो समुदायमा निकै दुखद घटना भयो, यस्तो परिस्थिति कसैले सामना गर्नु नपरोस ।’ नेम्वाङले अमेरिकामा रहेका नेपाली समुदायलाई नआतिन र घरभित्रै बसेर यस रोगबाट जोगिन आग्रह गरेका छन् ।

मृतक लिम्बूको परिवारलाई सहयोग पुगोस भनेर अहिले गो फण्ड मार्फत रकम जुटाइएको छ । हाल गो फण्डमा १७ हजार अमेरिकी डलर भन्दा बढी रकम जम्मा भइसकेको छ ।

हाल सम्म अमेरिकामा लिम्बूका जेठा छोरा बाहेक अन्य केही गैरआवासीय नेपालीलाई समेत संक्रमण पुष्टि भएको छ । हाल न्यूयोर्कको एल्मष्ट अस्पतालमा ४७ र ६० बर्षका दुई जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

यस्तै न्यूयोर्कको ज्याक्सन हाइट क्षेत्रमा व्यवसाय गर्दै आएका भिडियो ग्राफर शम्भु मोक्क्तान र अर्को व्यवसायी जीवन बमलाई संक्रमण पुष्टि भएको छ । दुवै जनाको अहिले स्थानिय अस्पतालमा उपचार भरहेको छ ।

यस्तै संक्रमण पुष्टि भएकी भर्जिनिया राज्यको फेरफाक्समा बसोबास गर्दै आएकी ३८ वर्षीय महिला पनि घरमै सेल्फक्वारेन्टाइनमा बसिरहेकी छन् । एकपछि अर्को गरी नेपालीलाई समेत भाइरस पुष्टि हुन थालेपछि अमेरिकास्थित नेपाली समुदायका अगुवाले सहयोग कार्यक्रम चलाइरहेका छन् । घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेकाहरु, अशक्क्त तथा बृद्धबृद्धालाई औषधीलगायतका सामग्री घरघरमा पुर्‍याउने काम भइरहेको छ । अन्नपूर्ण पोष्टबाट

 

 
 
  
 

You may also like