तिलोत्तमा नगरपालिकाले ल्यायो आफ्नै टोल फ्री नम्बर

अब निःशुल्क फोन गर्नुस १६६०७१ ५६६६६ मा २४ सै घण्टा

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो सेवासँग सम्बन्धित जनगुनासो तत्काल सम्बोधन गर्न र सेवा छिटो छरितो बनाउन आफ्नै टोल फ्री नम्बर १६६०७१ ५६६६६ संचालनमा ल्याएको छ । यस टोल फ्री नम्बरमा सेवाग्राहीले फोन गर्दा पैसा लाग्दैन । निःशुल्क रुपमा प्रदान गरिएको यस सेवाले सेवाग्राहिमा आफ्नो कामको बारेमा बुझ्ने र अत्यावश्यक सेवा हरु लिन सहज बनाउने तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले बताउनुभयो । शुक्रबारदेखि संचालित सेवाको बारेमा बोल्दै नगरप्रमुख घिमिरेले नगरपालिकामा दिइने सेवाका बिषयमा सम्बन्धित जनताको गुनासो तत्काल सम्बोधन गर्न र अत्यावश्यक सेवा जस्तैस् दमकल, एम्बुलेन्स लगायतका सेवाका लागि टोल फ्रि नम्बर १६६०७१ ५६६६६ सेवाको शुभारम्भ गरिएको बताउनुभएको छ ।

टोल फ्री नम्बरले जनताको गुनासोलाई सम्बोधन गर्ने र त्यस सेवाले नगरको सम्पूर्ण क्षेत्रको विकासलाई व्यवस्थित, पारदर्शी र गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगरप्रमुख घिमिरेले विश्वास व्यक्त गर्नुभएको छ। उहाले जनतालाई सोझै नगर सरकारसँग जोडने माध्यमको रूपमा पनि टोल फ्री नम्बर सेवा संचालनमा ल्याउनु परेको र यस क्षेत्रको विकासमा जनताको सहभागिता सुनिश्चित हुने विश्वास पनि व्यक्त गर्नुभयो। नगरपालिकाले टोल फ्री नम्बरमार्फत् जनताका आवश्यकता, गुनासो र मागलाई तत्काल सम्बोधन गर्ने तयारी गरेको हो ।

नगरपालिकाले सो हटलाइन सेवा सञ्चालनका लागि चौबीसै घण्टा कार्यरत रहनेगरी कर्मचारी खटाएको छ । अहिले कोरोनाको त्रास विश्वभर भएको र यसबाट बच्न सबै जागरुक हुनुपर्ने भएको र हावाहुरीको महिना भएकाले आगलागीबाट हुने क्षतिलाइ कमगर्न दमकल र एम्बुलेन्स सेवा २४ सै घण्टा उपलब्ध गराउने गरि निःशुल्क टोल फ्री नम्बर राखिएको सुचना तथा प्रबिधि प्रमुख इन्जिनियर सुदिप ढकालले बताउनुभयो । अब नगरपालिकाको सेवा का लागि टोल फ्री नम्बर १६६०७१ ५६६६६ नम्बरमा निःशुल्क फोन गर्न सकिनेछ ।

 

 
 
  
 

You may also like