विश्वबजारमा सस्तिँदै इन्धन, नेपालमा महंगो मूल्यमा जोहो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही दिनदेखि निरन्तर ओरोलो लागेको छ । सोमबार साँझसम्म ब्रेन्ट कच्चा तेलको भाउ ३५.२९ डरल प्रतिब्यारेल र अमेरिकाको वेस्ट टेक्सास इन्टरमिडियट कच्चा तेलको भाउ पनि प्रतिब्यारेल ३१.८६ डलरमा आईपुगेको छ ।

इन्टरमिडियट कच्चा तेलको प्रतिब्यारेल भाउ सन् १९४६ को अवस्थामा आईपुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममले जनाएका छन् । पछिल्लो तीन दिनमा मात्रै कच्चा तेलको मूल्य प्रतिब्यारेलमा २० डलरले सस्तो भएको छ ।

नेपालमा भने तेलको मूलय घटिसकेको छैन । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा घट्दो मूल्यको प्रभाव नेपालमा पनि पर्ने स्पष्ट पारेको छ ।

निगमलाई हरेक अंग्रेजी महिनाको १ र १६ तारिकमा नयाँ मूल्य प्राप्त हुने र यसले स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य घट्ने निगमका निर्देशक एवं प्रवक्ता विरेन्द्र गोईतले बताए ।

‘भारतीय आयल निगमले हामीलाई ६ दिनपछि नयाँ मूल्य पठाउँछ, उक्त मूल्यमा वर्तमान अन्तर्राष्ट्रिय बजारको मूल्य असर रहन्छ,’ निर्देशक गोईतले भने ।

निगम सेवामुलक संस्था भएको भन्दै उनले अन्तराष्ट्रिय मूल्य जस्तो रहन्छ त्यही अनुसार स्वचालित मूल्य प्रणाली अबलम्बन गर्ने बताए । त्यसअनुसार तेलको मूल्य घट्ने सम्भावना छ ।

जोहोमा लागे उपभोक्ता
यही समयमा नेपालका उपभोक्ता अनावश्यक त्रासमा परेर इन्धन जोहो गर्न लागेका छन् । विगत एक साता देखि उपत्यकामा पेट्रोलको खपत ह्वात्तै बढेको छ ।

उपत्याकामा पेट्रोलियम वितरण गर्ने निगमको थानकोट डिपोकाअनुसार एक सातादेखि काठमाडौं र आसपासका क्षेत्रमा औसतभन्दा दैनिक दुई लाख लिटर बढी पेट्रोल खपत भईंरहेको छ ।

सामान्य अवस्थामा काठमाडौं उपत्याकामा दैनिक ६ लाख लिटर पेट्रोल खपत हुन्थ्यो । डिजेल पनि साढे सात लाख पुग नपुग आठ लाख लिटर हाराहारी मात्रै खपत हुने गर्दथ्यो ।

अहिले पेट्रोल ८ लाख लिटर हाराहारीमा माग भइरहेको निगमका थानकोट डिपो प्रमुख विनितमणी उपाध्ययले भने ।

डिजेलको दैनिक खपत पनि सामान्य अवस्था भन्दा केही बढी ८ लाख लिटरकै सेरोफेरोमा रहेको उनले बताए । उपलब्ध इन्धन बजारमा मागअनुसार पठाएका तर खपतमा चाप पर्नुको कारण भने यकिन हुन नसकेको उनले बताए ।

नेपाल आयल निगमका कार्यकारी प्रमुख सुरेन्द्रकुमार पौडेल कोरोनाको कारण मनोवैज्ञानिक त्रासका कारण मानिसहरुले बढी इन्धन किनेको हुनसक्ने बताउँछन् ।

‘हामीले उपत्यकाको खपतमा चाप रहेको पाएका छौं, एक दुई लिटर मात्रै किन्नेहरुले फूल ट्याँकीं इन्धन भरेका हुन सक्छन्,’ कार्यकारी प्रमुख पौडेलले भने ‘आपूर्तिमा कुनै समस्या छैन ।’

उद्योग मन्त्रालय तथा आयल निगमले पनि डिजेल, पेट्रेल र ग्यास भण्डारण नगर्न सर्वसाधरणलाई आग्रह गरिरहेका छन् ।

अनावश्यक भण्डारणका कारण बजारमा अभाव र उपभोक्ता स्वयमलाई जोखिम बढेको सरकारी दावी छ । यता कोरोना त्रासले नाकाबन्दीको जस्तो अवस्था सिर्जना हुन्छ की भन्ने डरले जनताले इन्धन भण्डारण गर्न थालेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् ।

अन्तर्राष्ट्रिय बजार मूल्य घट्दो क्रममा रहेकाले उपभोक्ता आफै सचेत हुनुपर्ने तिमिल्सिनाको धारणा छ । सरकारले आपूर्ति व्यवस्था सहज छ भनिरहेकै अवस्थामा महँगो मूल्य तिर्नु उपभोक्ता स्वयम्को हितमा नहुने उनी बताउँछन् ।

आईओसीबाट घटेर आउने नयाँ मूल्यपछि नेपालको बजारमा इन्धनको मूल्य अहिलेका भन्दा धेरै हुन सक्ने आँकलन गरिएको छ ।

 
 
  
 

You may also like