मानव सेवा आश्रमको महायज्ञबाट ३ करोड ३१ लाख वचत

बुटवल । मानव सेवा आश्रमको प्रदेश ५ शाखाले बुटवलमा सञ्चालन गरेको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञबाट ३ करोड ३१ लाख रुपैया वचत भएको छ । दुईसय जना सडक मानवलाई व्यवस्थापनका लागि चारतले भवन बनाउन रकम संकलन गर्ने उद्देश्यले माघ २० गतेदेखि २७ गतेसम्म महायज्ञ सञ्चालन भएको थियो ।

महायज्ञमा एक करोड ५३ लाख ६३ हजार नगद संकलन र २ करोड १६ लाख ७६ हजार रुपैया बराबर रकम दान दिने प्रतिवद्धता आएको महायज्ञ आयोजक मूल समिति संयोजक लोकनाथ भुसालले जानकारी गराए । उठ्न बांकी रकम सहित कूल ३ करोड ७० लाख संकलन भएको महायज्ञ सम्पन्न गर्न ३८ लाख ८३ हजार खर्च भएको संयोजक भुसालले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

आश्रमको चारतले भवन बनाउन ११ करोड वजेट लाग्ने भएकाले सोही अनुसार लक्ष्य निर्धारण गरेपनि दानका लागि कसैलाई करकाप र दवाव नदिएकाले लक्ष्इ भन्दा थोरै संकलन भएको भुसालले स्पष्ट पारे ।

महायज्ञ सम्पन्न गर्न जग्गाधनी मृगेन्द्र शेरचनले महायज्ञ स्थल निःशुल्क उपलब्ध गराएका र लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघले महायज्ञ अवधिभर आवश्यक फलफूल र तरकारी उपलब्ध गराएको संयोजक भुसालले जानकारी गराए ।

यस्तै बुटवल उपमहानगरपालिका लगायत विभिन्न स्थानीय तह,प्रदेश ५ सरकार र विभिन्न संघसंस्थाको सहयोगले महायज्ञ सफल भएको भन्दै संयोजक भुसालले महायज्ञ सम्पन्न गर्न योगदान गरेका सबैलाई कोरोना भाइरसको त्रासको अन्त्य भएपछि एक विशेष समारोह आयोजना गरी सम्मान गरिने बताए ।

पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले आश्रमको भवन निर्माण र आश्रममा आश्रित बेसहारा व्यक्तिको व्यवस्थापनमा प्रदेश सरकारले आवश्यक वजेट र सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रदेश सरकारले आश्रमको भवन बनाउन यो वर्ष २५ लाख रुपैया वजेट छुट्टाएको र वहुवर्षिय योजना अन्तर्गत हरेक वर्ष आवश्यक वजेट छुट्टाइने मन्त्री बरालले बताए । सामाजिक विकास मन्त्रालयले आश्रममा रहेका व्इक्तिको स्वास्थ्इ चेकजांचका लागि ४ जना स्वास्थ्यकर्मी नियमितरुपमा खटाएको समेत मन्त्री बरालले बताए ।

 
 
  
 

You may also like