सप्तरीमा दुर्घटना परी मृत्यु भएका पत्रकार अधिकारीको अन्त्येष्टि

by समतल अनलाइन

अधिकारीको नाममा तिलोत्तमा नगरपालिकाले पत्रकारिता अक्षयकोष स्थापना गर्ने

बुटवल । सप्तरीमा दुर्घटना परी मृत्यु भएका पत्रकार डायलसन अधिकारीको अन्तिम दाहसंस्कार गरिएको छ । सामाजिक परम्परा अनुसार स्थानीय मगरघाटमा अधिकारीको दाहसंस्कार गरिएको हो ।

आइतबार बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ स्थित घरमा शव ल्याएर मगरघाटमा लगिएको थियो । शनिबारदेखि नै निकै ठूलो संख्यामा आफन्त तथा शुभेच्छुकहरुको भीड लागेको थियो । आइतबार प्रदेश सरकारका मन्त्रीहरु बैजनाथ चौधरी, लिला गिरी, नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुसाल, प्रदेश सांसदहरु, कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाक, विभिन्न स्थानीय सरकारका प्रमुखलगायतले अन्तिम श्रद्धान्जली दिएका थिए ।

त्यस्तै स्व. अधिकारीको पार्थिव शरिरमा नेपाल पत्रकार महासंघ रुपन्देहीले महासंघको झण्डा ओढाएर श्रद्धाञ्जली दिएको थियो । महासंघका अध्यक्ष यानेन्द्र जिसी, केन्द्रीय सदस्य बसन्त गिरी, प्रदेश ५ कावाअध्यक्ष भरत केसी, रुपन्देही सचिव राम प्रसाद आचार्य लगायतले महासंघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए । त्यसैगरी प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसाल सचिव श्यामशंकर पाण्डे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेमबहादुर हमालले संस्थागत रुपमा श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

श्रद्धाञ्जली सभामा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे मृतक स्व. पत्रकार अधिकारीको निधनले स्तब्ध बनाएको बताए । उनले स्व. पत्रकार अधिकारीको नाममा तिलोत्तमा नगरपालिकाले पत्रकारिता अक्षयकोष स्थापना गर्ने र अधिकारीको श्रीमतीलाई स्थानीय सरकारको तर्फबाट रोजगार व्यवस्था गर्ने र छोराछोरीको अध्ययनको व्यवस्था मिलाउने प्रतिवद्वता जनाए । विगत २० वर्षदेखि पत्रकारिता गर्दै आएका मृतक अधिकारी रेडियो नेपालका बुटवल संवाददाता हुन् ।

अधिकारीको निवासमा नेपाली कांग्रेस रुपन्देहीले झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेको थियो । कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकले पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली दिएका हुन् ।

यसैबीच प्रदेश ५ सरकारले दुर्घटनामा ज्यान गुमाएका कलमजीवी पत्रकार डायलसन अधिकारीको अकल्पनीय निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

प्रवक्ता बैजनाथ चौधरीद्वारा आइतबार जारी विज्ञप्तीमा अत्यन्त मिलनसार तथा कर्मठ पत्रकार अधिकारीको निधनले स्तब्ध बनाएको उल्लेख छ ।

 
 
  
 

You may also like