ओलीको बुधबार मिर्गौला प्रत्यारोपण, आज शिक्षण अस्पतालमा भर्ना हुँदै

‘स्वास्थ्य लाभ गरेर छिट्टै फर्किन्छु, एक साताभित्र अर्को ‘क्याबिनेट’ बस्छ’

काठमाडौं। प्रधानमन्त्री केपी ओलीको आगामी बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुने भएको छ । त्यसका लागि उनी सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुँदै छन् ।

ओलीलाई उनकी भान्जीले मिर्गौला दिने उपचारमा संलग्न एक चिकित्सकले बताए । प्रत्यारोपणअघि उनलाई कुनै समस्या आए मिर्गौला दिन नातिनी र भान्जा पनि तयार छन् । दुवै मिर्गाैला फेल भएपछि ०६४ मा भारतको अपोलो अस्पतालमा ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ । नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन् । ओलीको पहिलोपटकको मिर्गौला प्रत्यारोपण गर्ने भारतीय डाक्टरलाई बोलाउने विषयमा समेत छलफल चलिरहेको छ । तर, सोमबार मात्रै त्यसको टुंगो लाग्ने स्रोतले जनाएको छ ।

प्रत्यारोपणको तयारीस्वरूप आइतबार प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमा कोलोनोस्कोपी गरिएको छ । प्रत्यारोपण गर्नुपूर्व कोलोनोस्कोपी गरिन्छ । यसअघि उनको मुटुको अवस्था हेर्न मनमोहन कार्डियो सेन्टरमा एन्जियोग्राफी गरिएको थियो । प्रधानमन्त्री ओली गत १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए ।

२७ साउनमा स्वदेश फर्किएका उनले ५ भदौमा फेरि सिंगापुर पुगेर प्लाज्मा फेरेसिस प्रक्रियामार्फत उपचार गराएका थिए । त्यसले काम नगरेपछि ओलीको मिर्गौला डायलाइसिस गर्नुपर्ने अवस्थामा पुगेको थियो । उनले १४ कात्तिकदेखि नियमित डायलाइसिस गराउँदै आएका थिए ।

सन् २००८ यता देशभर करिब एक हजार पाँच सयमा मिर्गौला प्रत्यारोपण गरिएको डा. ज्ञवालीले बताए  । पहिलोपटक प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि सोही बिरामीले दोस्रो पटक प्रत्यारोपण गरेका उदाहरण पनि छन् ।

‘शिक्षण अस्पतालमा मात्रै आठ जनामा दोस्रो पटक सफल प्रत्यारोपण गरिएको छ । त्यस्तै, तत्कालीन राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रमा पनि दुईवटा गरिएका छन् । यो शतप्रतिशत सफल हो,’ डा. ज्ञवालीले भने । प्रत्यारोपण गरिएका सबैले सामान्य जीवन व्यतीत गरिरहेको उनले बताए ।

प्रत्यारोपण स्वीकृत समितिको बैठक बसेको छैन
अंग प्रत्यारोपणका लागि प्रत्यारोपण स्वीकृत समितिले सिफारिस गर्नुपर्छ । समितिमा चिकित्सक, अस्पताल प्रशासन, जिल्ला प्रशासन, कानुनविद्सहितको पाँच सदस्य हुन्छन् । समितिले प्रत्यारोपण गर्ने व्यक्ति र उनलाई अंग दिने व्यक्तिबीचको नाता हेर्ने गर्छ । नाता प्रमाणित स्थानीय निकायले गर्छन् ।

उक्त सिफारिसअनुसार नाता भएको स्थानीय तहले ठहर गरेपछि मात्रै प्रत्यारोपण गर्न पाइन्छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने विषयमा समितिको बैठक बसेको छैन ।‘प्रधानमन्त्रीको प्रत्यारोपणका लागि स्वीकृति समितिको बैठक बसेको छैन, तर सबै प्रक्रिया पूरा गरेर आए निर्णय गर्न लामो समय लाग्दैन,’ समितिका संयोजक डा. ईश्वर लोहनीले भने ।

परिवारका सदस्यमा पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू, ससुरा पर्छन् । त्यस्तै, सौतेनी बाबु, सौतेनी आमा, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबुबा, सानीआमा, भतिजा, भतिजी, जेठाजु, जेठानी, देवर, देउरानी, नन्द, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाइँ र जेठानले अंगदान दिन सक्ने व्यवस्था छ ।

मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले भने, ‘स्वास्थ्य लाभ गरेर छिट्टै फर्किन्छु, एक साताभित्र अर्को ‘क्याबिनेट’ बस्छ’
प्रधानमन्त्री केपी ओलीले आफू छिट्टै स्वास्थ्यलाभ गरेर नियमित काममा फर्किने र एक हप्ताभित्र अर्को मन्त्रिपरिषद् बैठक बस्ने बताएका छन् । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले मिर्गौला प्रत्यारोपणका लागि आफू उच्च मनोबलका साथ तयार रहेको बताए ।

‘म छिट्टै स्वास्थ्यलाभ गरेर नियमित काममा फर्किन्छु, एक हप्ताभित्र अर्को क्याबिनेट बैठक बस्नेछ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘आफन्तभित्रै बहिनीकी छोरी (भान्जी) को मिर्गौला प्रत्यारोपण गर्दैछु, चिकित्सकहरूले सबै स्वास्थ्य परीक्षण गरेर प्रत्यारोपण सफल हुने जानकारी गराएका छन् ।

कहिलेकाहीँ डिजास्टर (विपत्ति) नै भयो भने बेग्लै कुरा हो, तर प्रत्यारोपण सफल हुनेमा पूर्ण विश्वस्त छु, उपचारका लागि शारीरिक, मानसिकसहित सबै हिसाबले तयार भएको छु ।’ बैठकले प्रधानमन्त्रीको स्वास्थ्यलाभ कामनाको प्रस्ताव पारित गरेको छ । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like