नेकपा विवाद : सहमति खोज्न नेपालको दौडधुप

by समतल अनलाइन

काठमाडौं। सत्तारुढ दल नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने कि नलैजाने भन्ने विवाद गहिरिँदै जाँदा प्रधानमन्त्री केपी ओलीलाई शीर्ष नेताहरुले सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न सुझाव दिएका छन् ।

सचिवालय सदस्य एवं वरिष्ठ नेता माधवकुमार नेपालले ओली र अन्य नेताहरुसँग समन्वय गर्दै सचिवालयको निर्णय कार्यान्वयन गर्न सुझाव दिएका हुन् ।

‘युवराज खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने र गौतमलाई राष्ट्रियसभामा लैजाने तहबाट छलफल अघि बढिरहेको छ। यो विषयमा प्रधानमन्त्री ओली र अन्य नेताहरु पनि सहमत हुने अवस्थामा पुग्नुभएको छ’, नेता नेपाल निकट स्रोतले भन्यो ।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवासमा शुक्रबार बिहान भएको छलफलबारे बालुवाटारमा नेपालले ओलीलाई जानकारी गराएका थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । शीर्ष नेताहरुको सुझावपछि ओलीले दबाब महसुस गरिरहेको स्रोतले जनाएको छ । ‘नेता नेपालले ल्याएको सुझावपछि प्रधानमन्त्री अलि लचिलो बन्नुभएको छ, जसले गर्दा यही बाटो अवलम्बन हुने अवस्था बनेको छ’, बालुवाटार निकट स्रोतले भन्यो ।

दाहाल निवासको बैठकमा खतिवडालाई मन्त्रीमा पुनर्नियुक्ति गर्ने र गौतमलाई राष्ट्रियसभामा लैजानेगरी सहमति जुटाउने निर्णय भएको थियो । पार्टी अध्यक्षसमेत रहेका ओलीले गौतमलाई राष्ट्रियसभामा नलैजाने बताएपछि शुक्रबार बिहान शीर्ष नेताको छुट्टै बैठक बसेको थियो ।

बैठकमा कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेपाल, गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए। बिहान करिब आठ बजेदेखि चलेको छलफल पार्टीमा पछिल्लो समय बढेको विवादमा केन्द्रित रहेको स्रोतको दाबी छ । बैठक १० बजे सकिएको थियो ।

सुरुमा दाहाल निवासमा खनाल पुगेका थिए। त्यसपछि नेपाल र गौतम पुगेका थिए। श्रेष्ठ ढिलो गरी पुगेका थिए । त्यसैगरी गौतम महासचिव विष्णु पौडेल आफ्नो घरमा आएर केही बेर छलफल गरेपछि निस्केका थिए ।

दाहाल निवासको बैठकमा युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनर्नियुक्ति गर्ने र वामदेव गौतमलाई राष्ट्रियसभामा लैजानेगरी सहमति जुटाउने निर्णय भएको छ ।
पाँच नेताको बैठकमा गौतमलाई राष्ट्रियसभामा लैजाने र खतिवडालाई अर्थमन्त्रीमै कायम राख्ने सहमति गरिएको थियो । सोही सहमतिअनुसार नेपाल ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

नेपालले बालुवाटारमा दाहाल निवासमा भएको छलफलको सन्देश सुनाएको स्रोतको दाबी छ ।
नेकपामा पछिल्लो समय नेता गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा तीव्र विवाद देखिएको छ ।

बुधबार बसेको नेकपा सचिवालय बैठकले सर्वसम्मत रुपमा गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो । त्यो निर्णयप्रति अध्यक्ष ओली असन्तुष्ट छन् । उनले गौतमलाई राष्ट्रियसभामा मनोनयनका लागि सरकारले सिफारिस नगर्ने बताएपछि नेकपाभित्र विवाद चर्केको हो ।

ओली हालका अर्थमन्त्री खतिवडालाई नै राष्ट्रियसभामा निरन्तरता दिन चाहन्छन् । नेता खनालले भने पार्टी निर्णय कार्यान्वयन नगरे ओलीलाई प्रधानमन्त्रीबाटै हटाउनेसम्मको चेतावनी दिएका थिए । विवादले उग्र रुप लिएपछि नेपालले यो विषयमा समन्वय गर्दै आएका छन् । नेकपाभित्रको आन्तरिक कलह सार्वजनिक भएको बेला अध्यक्ष ओली बाहेकका शीर्ष नेताबीचको यस्तो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नागरिक दैनिकबाट

 
 
  
 

You may also like