अब प्रहरीमा श्रीमती साक्षी नराखी राजीनामा दिन नपाइने

by समतल अनलाइन

काठमाडौं । नेपाल प्रहरीमा राजीनामा दिंदा श्रीमतीको सहभागिता अनिवार्य चाहिने नियम लागू गरिएको छ ।प्रहरी कर्मचारीले राजीनामा दिनुपूर्व श्रीमतीको स्वीकृतसहित स्वयम् श्रीमतीलाई उपस्थित गराउनुपर्ने भएको हो । प्रहरी प्रधान कार्यालयले घरपरिवार र श्रीमतीको सल्लाहबिना नै राजीनामा दिंदा कतिपय प्रहरी कर्मचारीको परिवार नै अलपत्र पर्ने अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै राजीनामा दिंदा श्रीमतीको सहभागिता अनिवार्य गराएको छ । विभिन्न कारणले हरेक वर्ष प्रहरी कर्मचारीले राजीनामा दिने गरेका छन् ।

प्रहरी जवान र हल्वदारले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा राजीनामा बुझाउन पाउने प्रावधान छ भने प्रहरी सहायक निरीक्षकले प्रहरी नायब महानिरीक्षक, प्रहरी नायब निरीक्षकले प्रहरी अतिरिक्त महानिरीक्षलाई राजीनामा बुझाउने प्रचलन छ ।

प्रहरी निरीक्षकदेखि माथिल्लो पदका प्रहरी अधिकारीको राजीनामा भने प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट स्वीकृत गराउने गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षत्रीले राजीनामा दिंदा श्रीमतीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको स्विकार्दै भने, ‘प्रहरी कर्मचारीले राजीनामा गर्न पाउने अधिकार छ, तर घरपरिवारको सहमति र श्रीमतीको उपस्थिति अनिवार्य गराएर मात्र स्वीकृत गर्ने गरेका छौं ।’ नेपाल समाचारपत्र दैनिकबाट

 
 
  
 

You may also like