बुटवल । मानव सेवा आश्रमको प्रदेशस्तरको भवन निर्माणका लागि प्रदेश ५ सरकारले वजेट दिने भएको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले भवन निर्माणका लागि लाग्ने सबै खर्च प्रदेश सरकारले दिने घोषणा गरेका हुन् । प्रदेश सरकारले चालु आर्थिक वर्ष मै भवन बनाउन २५ लाख रुपैया विनियोजन गरेको र काम शुरु भएपछि लाग्ने सबै खर्च दिने बताए । आश्रमको भवन निर्माण तथा अक्षयकोष स्थापनाका लागि सञ्चालित महायज्ञको समापनमा मन्त्री बरालले प्रदेश ५ लाई सडक मानवमुक्त बनाउने सरकारको योजनामा मानव सेवा आश्रमसंग सहकार्य गर्ने बताएका हुन् । ‘प्रदेशलाई सडक मानवमुक्त बनाउने प्रयास गत वर्षदेखि शुरु भएको हो’–मन्त्री बरालले भने–‘सरकारको योजना र मानव सेवा आश्रमको अभियान एउटै भएकाले भवन बनाउन लाग्ने खर्च प्रदेश सरकारले दिन्छ ।’ सहयोगापेक्षी र बेसहारा दुई सय जना सडक मानवलाई आश्रय दिने र पालन पोषण गर्ने उद्देश्यले मानव सेवा आश्रमले बुटवलको हिलपार्क परिसरमा चार तले भवन बनाउने तयारी गरेको छ । अपांगमैत्री र लिफ्ट सहितको कम्तीमा ५० कोठासहितको चार तले भवन बनाउन एघार करोड रुपैयां वजेट लाग्ने अनुमान गरिएको छ ।
महायज्ञबाट करिब चार करोड रुपैयां संकलन
आठ दिनसम्म सञ्चालित महायज्ञबाट करिब चार करोड रुपैयां संकलन भएको छ । महायज्ञमा बुटवल उपमहानगरपालिकाले ३१ लाखसहित रुपन्देहीका अन्य नगरपालिकाहरुले समेत रकम प्रदान गरे । महायज्ञमा ३ करोड ६८ लाख रुपैयां संकलन भएको र खर्चको विवरण फागुन दोस्रो हप्ता सार्वजनिक गरिने महायज्ञका संयोजक लोकनाथ भुसालले बताए । महायज्ञ समापनका अवसरमा प्रदेश सभा सांसद भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख गोमादेवी आचार्य ,सिद्धार्थनगरपालिकाका प्रमुख हरि अधिकारी, आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डन, भागवत भाष्कर कमलनयन गौतम, महायज्ञका महासचिव माधव नेपाल लगायतले मानवीय सेवाका लागि आयोजित महायज्ञमा लक्ष्य अनुसार सफल भएको धारणा राखे ।