पर्रोहा बहुमुखी क्याम्पसको ९ औँ बार्षिकउत्सव, ‘स्टुडेन्ट अफ द इयर’ बनिन् शिला खनाल

by समतल अनलाइन

टिका खरेल
सैनामैना । पर्रोहा बहुमुखी क्याम्पसको नवौँ बार्षिकउत्सव सम्पन्न भएको छ । सैनामैना ४ मुर्गिया स्थित क्याम्पसको प्राङ्गढमा शनिबार एक कार्यक्रमको आयोजना गरी बार्षिकउत्सव सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले क्याम्पसले यस क्षेत्रमा भएका विद्यार्थीहरुका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएकोमा प्रशंसा गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका कार्कीले क्याम्पसले क्युएए प्रमाण पत्र प्राप्त गर्न शैक्षिक गुणस्तर सुधारका लागि अझै प्रयास गर्न आग्रह गर्दै देश विकासमा युवा विद्यार्थीहरुको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । उहाँले क्याम्पसका लागि नगरले सहयोग गरिरहेको र आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमका विशिष्ठ अतिथि नेपाली कांग्रेस रुपन्देही उपसभापति फणिन्द्र प्रसाद शर्माले क्याम्पसमा विद्यार्थीहरु अध्ययनमा मात्र नभएर अतिरिक्त क्रियाकलापहरु समेत सक्रिय रहेकोमा खुसी व्यक्त गर्नुभयो । क्युएए प्रमाण पत्र प्राप्त गर्नु चुनौतिको बिषय रहेको बताउँदै शर्माले यसका लागि हरेक विद्यार्थी,अभिभावक,प्रध्यापक,व्यवस्थापन समिती लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा सैनामैनाका इञ्चार्ज खुसीराम चौधरी, नेपाली कांग्रेस नगर सभापति रामप्रसाद अधिकारी , शहिद नारायण पोखरेल रामापुर बहुमुखी क्याम्पस व्यवस्थापन समिती अध्यक्ष डिल्लीराज ज्ञवाली, जनमोर्चाका लालबहादुर क्षेत्री , सैनामैना माविका प्रध्यानध्यापक नेत्रलाल पुरी लगायतले शुभकामना मन्तव्य राख्दै क्याम्पसको शैक्षिक प्रगतिको कामना गर्नुभयो ।

क्याम्पस व्यवस्थापन समितका अध्यक्ष तुल्सीकुमार भुसालले क्याम्पसको बार्षिक प्रतिवदेन प्रस्तुत गर्दै क्याम्पसको भौतिक पुर्वाधार थप गरी अझ प्रभावकारी ढंगबाट क्याम्पसलाइ अगाडि बढाउने योजना रहेको बताउनुभयो । कोषाध्यक्ष गणेशप्रसाद भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । क्याम्पस प्रमुख चित्र बहादुर केसीले क्याम्पसको शैक्षिक प्रतिवदेन प्रस्तुत गर्दै क्याम्पसले गुणस्तरीय शिक्षाको ९क्युएए० प्रमाण पत्र प्राप्त गर्नका लागि विभिन्न प्रक्रियाहरु अगाडि बढाएको बताउनुभयो ।

कार्यक्रममा क्याम्पसलाई जग्गा उपलब्ध गराउने सैनामैना ४ मुर्गिया निवासी खुसीराम चौधरी र सैनामैना ४ कै जीवराज पौडेललाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो । त्यस्तै २०७३ सालमा बिबिएस चौथो बर्षमा नेपाल प्रथम हुन सफल झरना शर्मालाई पनि दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

यसैगरी बार्षिकउत्सवको पुर्वसन्ध्यामा भएका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको क्याम्पसले जनाएको छ । अतिरिक्त क्रियाकलाप खेलकुद साताव्यापी कार्यक्रमको पुरस्कार वितरणको कार्यक्रम संचालन प्रध्यापक जगन्नाथ गौतमले गर्नुभएको थियो ।

‘स्टुडेन्ट अफ द इयर ’ बनिन् शिला खनाल

क्याम्पसले यस बर्षदेखी सुरु गरेको ‘स्टुडेन्ट अफ द इयर ’ २०७६ शिला खनाल बन्न सफल भएकी छन् । बिबिएस तेस्रो बर्षमा अध्ययनरत खनाल ‘स्टुडेन्ट अफ द इयर ’ भएसँगै शिल्ड र प्रमाण पत्र प्राप्त गरेकी हुन् । यसैगरी बिबिएस चौथो बर्षमा अध्ययनरत श्रदा ज्ञवाली द्धितीय र चौथो बर्षकै बिजय पाण्डे तृतिय भएका छन् । उनीहरुले शिल्ड र प्रमाण पत्र प्राप्त गरेका छन् ।

विभिन्न विद्याहरु अध्ययन,अनुशासन,लगनशिलता,अतिरिक्त क्रियाकलापको सक्रियता,आफुले क्याम्पसका लागि योगदान गर्न सक्ने प्रोजेक्ट प्रपोजल लगायतका आधारमा स्टुडेन्ट अफ द इयर २०७६ प्रदान गरिएको क्याम्पसले जनाएको छ ।

कार्यक्रम क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष तुल्सीकुमार भुसालको अध्यक्षता,सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो । क्याम्पस व्यवस्थापन समितीका उपाध्यक्ष गोबिन्द लम्सालको स्वागत , क्याम्पस प्रमुख चित्र बहादुर केसीको संचालनमा बार्षिकउत्सव भएको हो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए । पर्रोहा बहुमुखी क्याम्पसमा करिब ३ सय विद्यार्थी अध्ययनरत छन् ।

 
 
  
 

You may also like