नेप्से दोहोरो अंकले घट्यो

by समतल अनलाइन

काठमाडौं। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको परिसूचक बन्द हुँदा १३.७० अंकले घटेर १३२० अंकमा झरेको छ ।

दिनभरको बजारमा परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । पछिल्लो समय १ अर्ब बढी कारोबार भएको बजारमा आइतबार भने जम्मा ९५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कूल १७३ कम्पनीको २५ लाख ५० हजार कित्ता सेयर खरिद बिक्री भएका छन् ।

बजारमा चार कम्पनीको ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेको इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक र नागरिक लगानीकोषको ३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । जसमध्ये नेको इन्स्योरेन्सको ३ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् ।

आइतबारको बजारमा १२ वटा समूह कारोबारमा आएका थिए । जसमध्ये उत्पादनमूलक समूह बाहेक बाँकी समूह ओरालो लागेका छन् । निर्जीवन बीमा समूह सबैभन्दा बढी १३१ अंकले घटेको छ । उत्पादनमूलक समूह भने १७ अंकले उकालो लागेको छ ।

 
 
  
 

You may also like