अमेरिकाविरुद्ध नेपालको शानदार जित

by समतल अनलाइन

काठमाडौँ । आइसीसी विश्वकप डिभिजन लिग-२ अन्तर्गत अहिले नेपालले अमेरिकालाई पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको हो ।

नेपालले दिएको १९१ रनको लक्ष्य पछाएको अमेरिकाले ४४.१ ओभरमा अलआउट हुदै १५५ रन बनाएपछि नेपाल ३५ रनले विजयी भएको हो ।

अमेरिकाका लागि इआन होल्याण्डले सर्वाधिक ७५ रन बनाएका थिए भने क्यामरुन स्टेभेन्सनले १९ र करिमा गोरेले १० रन बनाएका थिए ।

त्यस्तै ब्याट्सम्यान जेभियर मार्शल २ रन, आरोन जोन्स ५ रन, स्टेभेन टेलर शुन्य र मोनाक पटेल ४ रन, अक्षय होमराज ५, एलमोर हचिनसन ३ रन बनाएर आउट भएका थिए ।

नेपाली बलर करण केसीले चार विकेट लिएका छन् । करणले ७.१ ओभरमा एक मेडनसहित १५ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै सुशान भारीले ३ विकेट लिएका थिए । सुशानले १० ओभरमा एक मेडनसहित ४३ रन दिएर ३ विकेट लिएका थिए ।

त्यस्तै सन्दीप लामिछानेले २ विकेट लिएका थिए । सन्दीपले १० ओभरमा २ मेडनसहित २७ रन दिएर २ विकेट लिए । त्यस्तै कुशल मल्लले एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य दिएको थियो । नेपालले ४९.२ ओभरमा अल आउट हुदै १९० रन बनाएको थियो ।

नेपालका लागि विनोद भण्डारी र कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । बिनोद भण्डारीले सर्वाधिक ५९ रन बनाए । विनोदले ७९ बल खेल्दै ६ चौका र एक छक्का प्रहार गरेका थिए ।

त्यस्तै कुशल मल्ल ५० रन बनाएर आउट भएका थिए । त्यस्तै करण केसीले १२ रन बनाए भने सन्दीप लामिछाने शुन्यमा आउट भए । त्यस्तै सुशान भारीले ११ रन बनाए भने अविनाश बोहोराले ५ रन बनाए ।

त्यस्तै सुबास खकुरेल ३ रन बनाएर आउट भए बहने कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए । त्यस्तै दिपेन्द्र सिंह ऐरी शुन्यमा आउट भए भने पारस खड्का १९ रन बनाएर आउट भएका छन् । त्यस्तै आरिफ सेख २ रन बनाएर आउट भए ।

अमेरिकी बलर क्यामरुन स्तेभेन्सनले ३ विकेट लिए भने रष्टि थेरोन र सौरभ नेत्राभल्करले २-२ विकेट लिए । त्यस्तै करिमा गोरे, इयान होल्याण्ड र एल्मोर हटचिन्सनले एक एक विकेट लिए ।

योसँगै नेपालले घरेलु मैदानमा पहिलो एकदिवसीय खेलमा जित हासिल गरेको छ । एकदिवसीय मान्यता पाएपछि नेपाल घरेलु मैदानमा पहिलो एकदिवसीय सिरिज खेलिरहेको छ ।

योसगै नेपालले २०२३ को विश्वकप छनौट यात्रामा पहिलो जित हासिल गरेको छ ।

अब नेपालले अर्को खेल आइतबार ओमानविरुद्ध खेल्दै छ ।

कुशल मल्लको किर्तिमान :

नेपाली युवा अलराउन्डर कुशल मल्लले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वकै कम उमेरका खेलाडी बनेका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एकदिवसीय डेब्यु गरेका मल्लले सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

मल्लले उनले १५ वर्ष ३ सय ४० दिनमा अर्धसतकीय इनिङ खेल्दै यो कीर्तिमान बनाएका हुन् ।

मल्लले नेपालकै रोहितकुमार पौडेलको कीर्तिमान तोडेका हुन् । उनी अमेरिकाविरुद्ध रोहितकै स्थानमा खेल्ने मौका पाएका थिए ।

मल्लले अमेरिकाविरुद्ध ४९ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाएर आउट भएका थिए ।

यस अघि रोहितले गत वर्ष यूएईविरुद्धको खेलमा १६ वर्ष १ सय ४६ दिन उमेरमा अर्धशतक प्रहार गर्दै कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका थिए ।

ad
ad

 
 
  
 

You may also like