फेरि काठमाडौंमा आन्दोलन गर्दै उखु किसान

by समतल अनलाइन

काठमाडौं । सरकारसँग भएको सहमतिअनुसार उखुको बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरि काठमाडौँमा आन्दोलन गर्ने तयारी गरेका छन् ।

जिल्लामा पटक–पटक आन्दोलन गर्दा पनि गत वर्षमा चिनी मिललाई बिक्री गरेको उखुको पैसा नपाएपछि सर्लाहीका किसान अघिल्लो महिना काठमाडौंस्थित माइतीघर मण्डला पुगेर धर्नामा बसेका थिए ।

उखु किसान पुसको चिसोमा कठ्याङ्ग्रिएर भुक्तानी माग्न धर्नामा बसेपछि सरकारले पुस १८ गते पाँचबुँदे सहमति गर्दै माघ ७ गतेभित्र चिनी उद्योगीबाट पुरानो सबै बक्यौता भुक्तानी गराउने प्रतिबद्धता जनाएको थियो ।

उद्योगमन्त्री लेखराज भट्ट आफैंले सहमति गरी आन्दोलन स्थगित गराई किसानलाई घर फर्काएका थिए । सरकारले दिएको मितिमा भुक्तानी पाउने आशामा उखु किसान घर फर्किएका थिए तर मध्य माघ भइसक्दा समेत किसानले जिल्लाको अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिम र महालक्ष्मी चिनी उद्योग बगदहबाट पूरा भुक्तानी पाएका छैनन् । गोरखापत्र दैनिकबाट

 

 
 
  
 

You may also like