पोखराको न्युरोडमा भीषण आगलागी, मिनी मार्केटमा ठुलो क्षति

by समतल अनलाइन

पोखरा । पोखराको मुख्य व्यापारिकस्थल न्यूरोडस्थित एस मिनी मार्केटमा मंगलबार दिउँसो भीषण आगलागी भएको छ । आगलागीबाट सो मिनी मार्केटमा रहेका विभिन्न पसलका ३२ वटा सटर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

दिउँसो ४ बजेर ५ मिनेटमा भएको आगलागी नियन्त्रणमा आउन झण्डै १ घण्टा लागेको थियो । मार्केटमा रहेका फोम हाउस, इलेक्ट्रिक पसल, फलफूल पसल, बिजुली पसल, चस्मा पसल, जुस हाउस, रेष्टुरेन्ट, फेन्सी पसल लगायत एक दर्जन पसल जलेका छन् ।

पोखरा महानगरपालिकाको ३ वटा दमकल र खानेपानी ट्यांकरको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी सहित स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् । नजिकैको शिवशक्ति फर्निचर उद्योगको सटरबाट भने स्थानीय र प्रहरीको सहयोगबाट सामानहरु सुरक्षित रुपमा सारिएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार आगलागीको २५ मिनेटपछि मात्र सुरक्षाकर्मी घटनास्थल आएको थियो भने ३५ मिनेटपछि पोखरा महानगरपालिकाको दमकल आएको थियो । उनले भने, सर्वप्रथम सटरबाट धूँवाको मुस्लो निस्केको देखियो । हामीहरुले सो मुस्लोका कारण चिप्लेढुंगा, महेन्द्रपुलको केही पनि भाग देख्न सकेनौं ।
छिमेकी कम्प्लेक्सका संचालक हिरामणि पण्डितले कम्प्लेक्सको इलेक्ट्रिक पसल वा रेष्टुरेण्टवाट आगजनी शुरु भएको हुन सक्ने अनुमान गरे। पोखराका व्यवसायी यदु अधिकारी र अर्जुन पोखरेलले जग्गा भाडामा लिएर ५ वर्षदेखि जस्ताले छाएको मिनी मार्केट संचालनमा ल्याएका थिए।

आगलागीबारे अनुसन्धान र क्षतिको यकिन विवरण संकलन भइरहेको कास्की प्रहरीले जनाएको छ । आगलागीबाट करिब ५ करोड क्षति भएको अनुमान छ।

 
 
  
 

You may also like