वर्किङ भिसाको प्रलोभन देखाएर यस्तोसम्मको ठगी धन्दा

by समतल अनलाइन

पोल्यान्ड हिंडेका १७ नेपाली चार महिना अजरबैजानमा बन्धक
काठमाडौं। सर्लाही लालबन्दीका २९ वर्षीय लीलाराज थापाको पोल्यान्ड जाने सपना त्यतिवेला तुहियो, जतिवेला उनी पूर्वी युरोपेली मुलुक अजरबैजानमा बन्धक बने ।

उनी १७ जना नेपालीसँगै बन्धक बनेका थिए । प्रतिमहिना सात सय युरो कमाउने सपना बोकेका उनले दलाललाई आठ लाख रुपैयाँ बुझाएका थिए । तर, उनले पोल्यान्ड टेक्न समेत पाएनन् । चार महिनाको बन्धक जीवनपछि उनी ज्यान जोगाएर नेपाल फर्किएका छन् ।

डुबेको रकम उठाउने चक्करमा कहिले प्रहरी त कहिले वैदेशिक रोजगार विभाग धाइरहेका उनले नयाँ पत्रिकासँग भने, ‘वर्किङ भिसामा पोल्यान्ड लैजाने भन्यो । कमाइ प्रतिमहिना सात सय युरो हुने प्रलोभन दियो ।

यसका लागि आठ लाख रुपैयाँ बुझाउनुपर्ने भन्यो । बेरोजगार हामी दलालको प्रलोभनमा फस्यौँ । ऋण गरेर उसले मागेजति रकम दियौँ । लगेर हामीलाई अजरबैजान पुर्‍यायो । चार महिना बन्धक बनाएर राख्यो । विभिन्न प्रयास गरेर हामी भागेर नेपाल फक्र्यौ ।’

थापाका अनुसार बन्धक बनेका १७ नेपाली पनि उनी जस्तै पोल्यान्ड नै हिँडेका थिए । यसबापत उनीहरूले पनि दलाललाई सातदेखि आठ लाख रुपैयाँ तिरेका थिए । तर, उनीहरूले पनि त्यही दुर्गति भोगे, जुन थापाले भोगे ।

उनले भने, ‘मसँगै मेरै गाउँका खुम थापा पनि गएका थिए । अजरबैजानको एयरपोर्टमा उत्रियौं । मनोजकुमार भनिने एक भारतीय एजेन्टले हामीलाई एउटा घरमा लग्यो । त्यहाँ पुग्दा त हामीजस्तै पोल्यान्ड हिँडेका १७ भाइ भेट्यौं । जो पछि हामीसँगै बन्दी बने ।’

विमानस्थल पुगेपछि अजरबैजानको बिजनेस भिसा हातमा
पाल्पा तानसेनका २७ वर्षीय शशी ज्ञवाली र विजय कार्कीको पीडा पनि थापाको भन्दा फरक छैन । उनीहरू पनि प्रतिमहिना पाँच सय युरो कमाउने दलालको प्रलोभनपछि पोल्यान्ड जान राजी भए ।

यसका लागि प्रतिव्यक्ति आठ लाख दलाललाई बुझाए । वर्किङ भिसामा पोल्यान्ड जाने मनस्थितिमा रहेका उनीहरू तब झस्के, जब हातमा अजरबैजानको बिजनेस भिसा पर्‍यो । तर, त्यसवेलासम्म उनीहरू दलालको जालमा फसिसकेका थिए ।

चार महिनाको बन्धक जीवनपछि अजरबैजानबाट भागेर नेपाल आएका ज्ञवालीले भने, ‘वर्किङ भिसामा लैजाने भनेको थियो । हामी त्यही मनस्थितिमा थियौँ । जब विमानस्थल पुग्यौँ, हाम्रो हातमा भिसा पर्‍यो ।

हेर्दा पोल्यान्डको नभई अजरबैजानको रहेछ । त्यो पनि वर्किङ नभई बिजनेस । छाँगाबाट झरेझैं भयो । तर, विकल्प थिएन, किनकि रकम दलालको हातमा परिसकेको थियो । दुबई हुँदै अजरबैजान पुग्यौँ । चार महिनाको बन्धक जीवनपछि बल्ल बाँचेर नेपाल फक्र्यौं ।’

काभ्रे रोसीका गुणराज लामाद्वारा ३५ भन्दा धेरै युवासँग करोड ठगी
पोल्यान्ड लैजाने भन्दै अजरबैजान लगेर युवा अलपत्र पार्ने काभे्र रोसीका ३८ वर्षीय राजकुमार भनिने गुणराज लामा हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार उनको गिरोहले आकर्षक तलबमा पोल्यान्ड लैजान प्रलोभन दिएर ३५ जनाभन्दा धेरै युवा ठगेको छ । जसमध्ये १५ पीडितले जाहेरी दिएका छन् । झन्डै एक करोड रुपैयाँ ठगिएको जाहेरीमा उल्लेख छ ।

महाशाखाका प्रवक्ता एसपी मुकेश सिंहले पोल्यान्ड लैजाने भन्दै अजरबैजान लगेर अलपत्र पर्ने लामा पक्राउ परेको र उनीविरुद्ध जाहेरी आउने क्रम जारी रहेको बताए । ‘पोल्यान्ड लैजाने भन्दै अजरबैजान लगेर अलपत्र पारेको अभियोगमा राजकुमार भनिने गुणराज लामा पक्राउ परेका छन् । उनीविरुद्ध जाहेरी आउने क्रम जारी छ । अनुसन्धान भइरहेको छ ।’

लामा सामान्य धरौटीमा रिहा भए, परिचय बदलेर ठगी धन्दा सुरु गरे
प्रहरीका अनुसार लामा पहिले सामाखुसीमा देउराली ह्युमेन रिसोर्स नामको मेनपावर चलाउँथे । अहिले उनको प्रस्तुति रिक्र्युट नामको मेनपावर छ । उनले देउराली ह्युमन रिसोर्सबाटै डिल गरेर ३५ भन्दा धेरै युवालाई विश्वका विभिन्न मुलुक लैजाने प्रलोभन दिएका थिए । तर, आफूले भनेको मुलुक जान नपाएपछि पीडितहरूले लामाविरुद्ध प्रहरीमा दिएको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् ।

उनलाई ५ पुस ०७४ मा वैदेशिक न्यायाधिकरणले दोषी ठहर गर्दै तीन वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । तर, उनी धरौटीमा छुट्न सफल भएका थिए । रिहा भएपछि उनी आफ्नो परिचय बदलेर राजकुमार लामा बने । सोही आवरणमा उनले प्रस्तुति रिक्र्युट नामको मेनपावर खोले । र, पुनः ठगीधन्दा सञ्चालन गरे ।

लामाको सोही आवरणबाट पछिल्लोपटक पोल्यान्ड जाने चक्करमा युवाहरू फसेका हुन् । महाशाखाका प्रवक्ता एसपी सिंहले भने, ‘पक्राउपछि यसको विगत अध्ययन भयो । त्यसपछि पो खुल्यो कि यो त फरार प्रतिवादी पो रहेछ । ऊविरुद्ध त अदालतले पहिल्यै कैद सजाय र जरिवाना तोकेको रहेछ ।’ नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like