प्रदेश लोकसेवा आयोगको मुकाम बुटवलमै, अस्थायी कर्मचारीहरुको म्याद समाप्त

by butwalweb

बुटवल,२८ साउन । प्रदेश लोक सेवा आयोगको मुकाम बुटवलमै रहने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले प्रदेश लोक सेवा आयोगको मुकाम बुटवललाई तोक्ने लगायतका ८ बुँदे निर्णय गरेको हो ।

प्रदेश सरकारले व्यवसायिक तथा सीप विकास तालिम केन्द्र बाँके र दाङ तथा रोजगार सूचना केन्द्र बुटवलमा कार्यरत अस्थायी कर्मचारीहरुको सेवा अन्त्य गर्ने निर्णय गरेको छ भने पेन्सन प्राप्त स्थानीय तहका जनप्रतिनिधिहरुले दाहोरो सुविधा पाउनेगरी स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन,२०७५ संसोधन गर्ने विधेयकलाई सैद्धान्तिक स्विकृती दिएको छ ।

बैठकले सामाजिक विकास मन्त्रालयले पेश गरेको सेवा केन्द्र तथा पुनस्र्थापना केन्द्र स्थापना र सञ्चालन तथा सेवा तथा पुनस्र्थापना कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक।२०७६ सम्बन्धमा तयार गरिएको अवधारणा पत्रलाई पनि सैद्धान्तिक स्विकृती प्रदान गरेको छ ।

त्यसैगरी बैठकले उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले पेश गरेको वजार नियमन तथा प्रतिष्पर्धा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकको अवधारणा पत्र स्विकृत गरेको छ भने प्रदेश विश्व विद्यालय स्थापना र प्रदेश अन्तर्गत सञ्चालन हुने उच्च शिक्षा सम्बन्धी शैक्षिक संस्थाहरुको नियमन गर्न उच्च शिक्षा नीति सम्बन्धमा बन्ने विधेयकको बारेमा तयार पारिएको अवधारणा पत्रलाई पनि स्विकृती प्रदान गरेको छ ।

बैठकले कपिलवस्तुको सुद्धोधन गाउपालिकाको केन्द्र परिवर्तन गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गर्नुका साथै सडक दुर्घटनामा परि मृत्यु भएका प्रदेशसभा सदस्य उत्तरकुमार वलीको परिवारलाई प्रदेशसभा सचिवालय मार्फत वीमा वापतको १० लाख रुपयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

 
 
  
 

You may also like