महासंघद्वारा मिसन टोली गठन

by समतल अनलाइन

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले पछिल्लो समय जिल्लाभित्र कार्यरत पत्रकारहरुको सुरक्षा चुनौती थपिएको महशुस गर्दै यसको अध्ययन, अनुगमन तथा सरोकारवाला निकायसंग बसेर समाधान गर्नका लागि मिसन टोली गठन गरेको छ ।

शुक्रबार आकस्मिक रुपमा बसेको महासंघको बैठकले महासंघ रुपन्देहीका पूर्वअध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य विनोद पहाडी, सल्लाहकार तथा पूर्वअध्यक्ष डिआर घिमिरे तथा सल्लाहकार माधव नेपाल रहेका ३ सदस्यीय मिसन टोली गठन गरिएको सचिव रामप्रसाद आचार्यद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । मिसन टोलीले पछिल्लो समय जिल्लाभित्र कार्यरत विभिन्न संचारकर्मीमाथि आएका सुरक्षा चुनौतीका विषयमा अध्ययन अनुगमन गर्नेछ ।

शुक्रबारको बैठकले नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य तथा भैरहवाबाट प्रकाशित गौतमबुद्ध सन्देश दैनिक पत्रिकाका प्रबन्ध सम्पादक माधब न्यौपानेलाई प्रहरी कार्यालयमा बोलाएर दिइएको मानसिक यातनाप्रति घोरभ्रत्सना गरेको छ ।

विज्ञप्तीमा समाचारको विषयमा प्रहरीले बोलाएर अनावश्यक दवाव दिनु गैरकानुनी तथा प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन भएको ठहर गर्दै आगामी दिनमा यसप्रकारका शैली नअपनाउन चेतानवी दिइएको छ । साथै पूर्ण स्वतन्त्रताको मागसहित पत्रकारको शान्तिसुरक्षाको प्रत्याभूत गर्न नेपाल सरकार गृहमन्त्रालयसंग जोडदार मागसमेत गरेको छ ।

 
 
  
 

You may also like